काठमाण्डौ । वार्षिक साधारणसभामा प्रवेशबाट रोक लगाइएपछि हिमालयन बैंकका सेयरधनीहरुले नाराबाजी गरेका छन्। 

सोल्टीमोडस्थित सोल्टी होटेलमा आज बिहान ११ बजे आयोजित हिमालयन बंैकको ३० औँ वार्षिक साधारणसभामा निर्धारित समयभन्दा पछि पुगेको भन्दै सेयरधनीलाई प्रवेश गर्न रोक लगाइएको थियो। बैंकको साधारणसभा भित्र चलिरहँदा पनि प्रवेशद्वारमा ताल्चा लगाएर सेयरधनीलाई रोकिएपछि उनीहरुले बैंकविरुद्ध नाराबाजी लगाएका हुन्। 

सेयरधनी समयमा नआइपुगोेस् भनेर यस्तो ठाउँमा साधारणसभा राखिएको बाहिर रोकिएका एक सेयरधनीले आरोप लगाए। ‘सभामा उपस्थित हुन पाउनुपर्ने हामी सेयरहोलडरको अधिकार हो’, ती सेयरधनीले भने ‘कहिलेकाहीँ केही ढिला भइहाल्छ, त्यही पनि एकै दिन धेरै कम्पनीको साधारणसभा परेर समस्या भयो।’

सभाले आर्थिक वर्ष २०७८–७९ का लागि प्रस्तावित चुक्तापुँजीको ८ प्रतिशत बोनस सेयर र ११.११ प्रतिशत नगद लाभांश (करसहित) अनुमोदन गरेको छ।

त्यसैगरी सभाले सिभिल बैंकलाई सम्पति तथा दायित्व मूल्यांकनका आधारमा तय भएको १००ः८०.२८ सेयर स्वाप अनुपातमा प्राप्ति गर्ने प्रक्रिया पनि स्वीकृत गरेको छ।