काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमालले सरकारले बजेट सार्वजनिक गरेपछि सेयर बजारमा देखिएको समस्याप्रति आफू गम्भीर रहेको बताएका छन्। 

आज सेबोन कार्यालयमा सेयर लगानीकर्ताहरुसँगको पत्रकार सम्मेलनमा अध्यक्ष हमालले बजेटमा एफपीओ र मर्जरमा सरकारले ल्याएको करको व्यवस्थाबारेमा आफूले अर्थ मन्त्रालय र प्रधानमन्त्रीको कार्यालयमा कुरा राख्ने बताए। ‘हामी यस विषयमा गम्भीर छौँ’, उनले भने, ‘यो विषयमा स्पष्ट हुन महत्वपूर्ण छ, त्यसैले आजै लगानीकर्ताहरुले उठाएका माग अर्थ मन्त्रालय र प्रधानमन्त्रीको कार्यालयमा बुझाउने छौँ।’

अध्यक्ष हमालले लगानीकर्ताहरुलाई नआत्तिन र धैर्यताका साथ सेयर कारोबार गर्न आग्रह पनि गरे। ‘लगानीकर्तालाई मर्का परेको छ, सेबोनको सीमाभित्र रहेर हामी मन्त्रालयहरुमा कुरा राख्छौँ’, उनले भने। 

पत्रकार सम्मेलनमा उपस्थित लगानीकर्ताहरुले बजेटमार्फत कल्पनासम्म गर्न नसकिने व्यवस्थाहरु आएकोमा भन्दै सेबोन अध्यक्षको ध्यानाकर्षण गराएका थिए। उनीहरुले त्यस्ता व्यवस्था आमलगानीकर्तालाई मात्र नभई धितोपत्र बोर्ड र ब्रोकरलाई पनि असर पर्ने बताए।