– अर्जुन तिमिल्सिना

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नयाँ इन्डेक्स ‘नेप्से–३०’को आन्तरिक परीक्षणको तयारी सुरु गरेको छ। 

नेप्से–३० इन्डेक्सको आन्तरिक परीक्षणका लागि अहिले नेप्सेले यसमा समावेश गरिने कम्पनीहरुको छनौट गरिरहेको छ। ‘नेप्सेले बनाएको मापदण्डभित्र बसेर नेप्से–३०को आन्तरिक परीक्षण गर्न सञ्चालक समितिले अनुमति दिइसकेको छ’, नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले भने, ‘आन्तरिक परीक्षणका लागि अहिले नेप्से–३०मा समावेश गर्ने कम्पनीहरुको छनौट गर्ने काम भइरहेको छ। ती कम्पनीहरु तोकिएको मापदण्डका आधारमा छनौट गरिनेछ।’ 

कम्पनीहरुको छनौट पूरा भएसँगै नेप्से–३०को आन्तरिक परीक्षण सुरु गरिने प्रवक्ता पराजुलीले जानकारी दिए। ‘आन्तरिक परीक्षण सफल भएपछि मात्रै नेप्सेले नेप्से–३० सञ्चालनमा ल्याउनेछ’, उनले भने। 

नेप्से–३०का लागि बनाइएको मापदण्डका अनुसार यो इन्डेक्समा समावेश हुने कम्पनीहरु ६–६ महिनामा परिवर्तन हुन पनि सक्ने पराजुलीले जानकारी दिए। 

नेप्से–३०मा समावेश हुने कम्पनीहरुका लागि फेस भ्यालुभन्दा बुक भ्यालु बढी भएको र विगत ५ वर्षको अवधिमा ३ वर्ष खुद मुनाफा गरेको हुनुपर्नेछ। पछिल्लो वर्षमा प्रतिसेयर आम्दानी कम्तीमा १० प्रतिशत रहेर मुद्रास्फीतिभन्दा बढी भएको हुनुपर्ने, २५ प्रतिशत सेयर सर्वसाधारणमा जारी गरेको हुनुपर्ने, सेयरधनी संख्या २० हजार रहेको हुनुपर्ने, पछिल्लो ६ महिनामा २५ लाख रुपैयाँभन्दा बढी कारोबार भएको र दैनिक औसत ५ हजार कित्ता कारोबार हुने गरेका कम्पनीहरु यो इन्डेक्समा समावेश गरिनेछ। 

त्यस्तै पछिल्लो ६ महिनामा न्यूनतम ७५ प्रतिशत कारोबार भएको हुनुपर्ने प्रावधान पनि नेप्से–३० इन्डेक्समा राखिएको छ। यी मापदण्डका आधारमा नेप्सेले ३० वटा कम्पनी छनौट गर्नेछ। 

त्यसो त यी मापदण्डलाई हेर्दा नेपालमा सबैभन्दा उच्च मूल्य भइरहेको युनिलिभर नेपाल नपर्ने निश्चित भएको छ । नेप्से–३०मा पर्ने कम्पनीको दैनिक औसत ५ हजार कित्ता कारोबार भएको हुुनुपर्छ। यो मापदण्डका आधारमा युनिलिभर नेपाल नेप्से–३०मा पर्ने सम्भावना नै छैन। किनकि यो कम्पनीको दैनिक यति धेरै कित्ता सेयर नेप्सेमा कारोबार भएको देखिँदैन। 

आजकै कुरा गर्ने हो भने युनिलिभर नेपालको ३० कित्ता सेयरमात्रै कारोबार भएको छ। आजको अन्तिम कारोबार मूल्यअनुसार यो कम्पनीको सेयरभाउ प्रतिकित्ता ३२ हजार ५७५ रुपैयाँ रहेको छ। जुन नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये सबैभन्दा धेरै हो।