काठमाण्डौ । सेयर धितो कर्जामा १२ करोडको क्याप संस्थागत लगानीकर्ताको हकमा हटाउने कसरतमा जुटेका अर्थमन्त्री डा. प्रकाशशरण महतले असोज पहिलो साता राष्ट्रबैंकको सञ्चालक समितिको बैठक बस्ने वातावरण मिलाउन आग्रह गरेका छन् । 

राष्ट्रबैंकको सञ्चालक समितिका एक सदस्यले आफूलाई अर्थमन्त्रीले मन्त्रालयमै बोलाएर सेयर बजारका लगानीकर्ताहरुको माग सम्बोधन गर्ने गरी सरकारले वाचा गरेको र आफूले संसदको सम्बोधनको क्रममा प्रष्ट प्रतिबद्धता जनाएकोले समेत आवश्यक नीतिगत सुधारका लागि चाँडोभन्दा चाँडो निर्णय गराउने भूमिका खेल्न आग्रह गरेका दाबी गरेका छन् । 

‘गभर्नर देशबाहिर रहेका कारण उहाँ आएलगत्तै राष्टबैंकको सञ्चालक समितिको बैठक बोलाउने गरी भूमिका खेल्न मन्त्री ज्यूले आग्रह गर्नुभएको छ ।’ बुधबार सिंहदरबार परिसरमा भेटिएका ती सञ्चालकले आफ्नो नाम नखोलिदिन आग्रह गर्दै बिजशालासँग भने–‘सेयर बजारका समस्या समाधान गरी लगानीकर्ताको मनोबल उकास्ने विषयमा अर्थमन्त्री निकै गम्भीर पाएको छु ।’ 

अर्थमन्त्री डा. महतले केही दिनअघि संसदमा चलेको प्रश्नोत्तर कार्यक्रममा सांसद प्रेम सुवालको जिज्ञासा समाधान गर्दै सरकारले १२ करोडको सीमा हटाउने र अन्य नीतिगत सुधार गर्न लगाएर भए पनि सेयर बजारको समस्या सम्बोधन गर्ने प्रतिबद्धता जनाएका थिए । 

त्यसलगत्तै सोमबार राष्ट्रबैंकको सञ्चालक समिति सदस्य समेत रहेका अर्थसचिव अर्जुनप्रसाद पोखरेललाई बोलाएर संस्थागत लगानीकर्ताको हकमा १२ करोडको क्याप हटाउन र व्यक्तिगतको हकमा १२ करोडको सीमा बढाएर कम्तीमा २४ करोड पुर्याउने गरी नीतिगत संसोधन गर्ने गरी वातावरण मिलाउन निर्देशन दिएका थिए । 

अर्थमन्त्रीको निर्देशनपछि अर्थसचिव पोखरेलले समेत राष्ट्रबैंकका उच्च अधिकारी र अन्य सञ्चालकहरुसँग आवश्यक समन्वय थालिसकेका छन् ।

सकेसम्म गभर्नर आएलगत्तै बोर्ड बैठक बसाउने गरी दवाब दिने अर्थमन्त्री, अर्थसचिव र केही सञ्चालकको चाहना छ । तर, राष्ट्रबैंकको बोर्ड बैठक बोलाउने अधिकार गभर्नर महाप्रसाद अधिकारीलाई मात्र छ । उनले नचाहेको खण्डमा बोर्ड बैठक तत्काल नबस्न पनि सक्छ । 

अर्थमन्त्रीको निजी सचिवालयका एक सदस्यकाअनुसार १२ करोडको क्याप हटाउने र व्यक्तिगतको हकमा बढाउने सवालमा गभर्नर पनि सकारात्मक नै देखिन्छन् । ‘मन्त्री ज्यू क्यानडाबाट फर्किएपछि गभर्नरलाई मन्त्रालयमै बोलाएर ३ पटकसम्म भेटवार्ता र छलफलहरु भएका छन् ।’ सचिवालयका ती सदस्यले भने–‘अर्थमन्त्रीले राखेका बजारका माग सम्बोधन गर्ने विषयमा गभर्नरले ‘सकेजति गरौंला’, ‘म हेर्छु’ भन्नुभएको हामीले बुझेका छौं ।’ 

यदि अर्थमन्त्रीको कसरतअनुसार सबै घटनाक्रम अगाडि बढेमा असोज पहिलो साता केन्द्रीय बैंकको सञ्चालक समितिको बैठक बस्ने सम्भावना देखिएको छ । 

‘गभर्नर ज्यू भदौ ३१ गते स्वदेश फर्किनुहुँदैछ । त्यसपछि उहाँलाई बोलाएर अर्थमन्त्री ज्यूले आवश्यक निर्देशन दिनुहुनेछ।’ अर्थमन्त्री निकट स्रोतले भन्यो ।

राष्ट्रबैंकका अर्का एक सञ्चालकले बोर्ड बैठक नबसेको २० दिनभन्दा बढी भइसकेको र गभर्नर आएको केही दिनमै बैठक बस्ने सम्भावना रहेको जानकारी दिए । 

‘१२ करोडको क्याप हटाउने मात्र होइन, नीतिगत रुपमा संसोधन गर्नुपर्ने लगायत तत्काल सम्बोधन गर्नुपर्ने धेरै इस्यूहरु छन् ।’ ती सञ्चालकले भने–‘बोर्ड बैठक बस्न ढिला भइसकेको छ ।’ 

किन खुल्न मान्दैनन् ?
अर्थमन्त्री र उनको निजी सचिवालयका सदस्यहरु सेयरधितो कर्जामा संस्थागतका लागि १२ करोडको क्याप हटाउने, व्यक्तिगतको हकमा २४ करोड पुर्याउने लगायतका विषयमा खुलेर बोल्न मान्दैनन् । यसको कारण के हो त ? यही प्रश्न हामीले मन्त्रीको सचिवालयका एक सदस्यलाई सोधेका थियौं–‘मन्त्री ज्यू पनि यो विषयमा खुल्न चाहनुहुन्न । खुलेर राष्ट्रबैंकलाई यो गर, त्यो गर भनेर मन्त्रीले भन्न थाले भने फेरि हस्तक्षेप गरेको आरोप लाग्छ । त्यसकारण निकै चलाख्याईपूर्वक मन्त्री ज्यूले सेयर बजारलाई राहात हुने काम गर्न खोजिरहनुभएको छ । ब्याजदर घटाउने इस्यूमा पनि उहाँ प्रष्ट हुनुहुन्छ ।’