 
                     
                                
                             
                                    काठमाण्डौ । आइरिस नियामक निकायहरुले टिकटकलाई बालबालिकाका डेटाको गोपनीयता उल्लंघन गरेको भन्दै ३४ करोड ५० लाख युरो जरिवाना गरेका छन्।
त्यस मामिला टिकटक एपले सन् २०२० मा बालबालिकाको डेटा कसरी राख्थ्यो र विशेषगरी उमेर प्रमाणीकरण तथा गोपनीयतासम्बन्धी ‘सेटिङ्स’ले कसरी काम गर्थे भन्ने कुरासँग जोडिएको छ। यो कुनै पनि देशका नियामकले टिकटकलाई गरेको हालसम्मको सबैभन्दा ठूलो जरिवाना रकम हो।
उक्त सामाजिक सञ्जाल कम्पनीका प्रवक्ताले चाहिँ जरिवानाको निर्णयसँग आफूहरुको सम्मानपूर्ण असहमतिहरु रहेको र त्यो विशेषगरी जरिवानाको मात्रामा भएको बताएका छन्। ‘आलोचना विशेषताहरु र सेटिङहरुमा केन्द्रित छन्। त्यो ३ वर्षपहिले थियो र हामीले अनुसन्धान सुरु हुनुभन्दा पहिले नै ती कुराहरु परिवर्तनहरु गरेका थियौँ, जस्तै कि १६ वर्षभन्दा कम उमेरका व्यक्तिले खोल्ने खाताहरु स्वतः ‘प्राइभेट’ खाताका रूपमा रहने व्यवस्था छ’, ती प्रवक्ताले भनेका छन्।
उक्त जरिवाना आयरल्यान्डको डेटा प्रोटेक्सन कमिसन (डीपीसी)द्वारा तय गरिएको हो। डीपीसीले युरोपेली संघ (ईयू)को जेनेरल डेटा प्रोटेक्सन रेगुलेशन (जीडीपीआर) अर्थात् गोपनीयता कानुनअन्तर्गत जरिवाना तय गरेको हो। जीडीपीआर डेटा व्यवस्थापन गर्दा कम्पनीहरुले पालना गर्नुपर्ने नियमहरु तय गर्ने गर्छ।
डीपीसीले टिकटकले आफ्ना गोपनीयतासम्बन्धी सेटिङहरुबारे बच्चाहरुलाई पर्याप्त पारदर्शी ढंगले नबुझाएको र उनीहरुको डेटा कसरी प्रशोधन गरियो भन्ने पनि थाहा नभएको भन्दै प्रश्न उठाएको छ। डेटा संरक्षण आयुक्त हेलेन डिक्सनका अनुसार सोधपुछका क्रममा १३ देखि १७ वर्षका किशोर–किशोरीले बनाएका खाताहरु दर्ता गर्दा पूर्वनिर्धारित रुपमै सार्वजनिक रुपमा देखिने गरी सेटिङ गरिएको पाइएको थियो। त्यस्तो हुनु भनेको उनीहरुले पोस्ट गरेका सामग्री जसले पनि देख्न सक्ने हुनु हो। ‘यसमा टिकटककै हात छ किनभने उनीहरुले नै उक्त ‘प्लेटफर्म’को डिजाइन गरेका हुन् र हामी के भन्छौँ भने डिजाइनरले जीडीपीआरको पूर्वनिर्धारित आवश्यकता पूरा नगरी डेटा सुरक्षाको उल्लंघन गरेका छन्’, डिक्सनले भनिन्।
टिकटकलाई आफ्नो ‘डेटा प्रोसेसिङ’लाई पूर्ण रुपमा जीडीपीआरअनुरुप बनाउन ३ महिनाको समय दिइएको छ। लन्डन स्कुल अफ इकोनोमिक्स एन्ड पोलिटिकल साइन्समा बालबालिकाको डिजिटल अधिकार र अनुभवबारे अनुसन्धान गर्ने प्राध्यापक सोनिया लिभिङस्टोनले डीपीसीको निर्णयलाई स्वागत गरिन्। ‘बालबालिकाहरु शोषित नभईकन डिजिटल संसारमा सहभागी हुन चाहन्छन्। यसको मतलब के हो भने ‘प्लेटफर्म’हरुले उनीहरुको डेटालाई कसरी प्रयोग गर्छन् भनेर भन्नैपर्छ अनि सबैभन्दा महत्त्वपूर्ण रुपमा उनीहरुको डेटालाई निष्पक्ष रुपमा व्यवहार गरिनुपर्छ किनकि गोपनीयता बालबालिकाको अधिकार हो’, उनले भनिन्।
टिकटकले गैरकानुनी रुपमा ईयूबाट चीनमा डेटा पठाएको छ कि छैन भनेर पनि अर्को एउटा अनुसन्धान जारी छ। टिकटकको स्वामित्व बेइजिङको कम्पनी बाइटडान्ससँग छ। टिकटकमाथि गरिएको कारबाही ठूलो भए पनि हालैका महिनाहरुमा भएका अन्य जरिवानाभन्दा यो कम हो।
युरोपेली नियामकले नियामकले गत मे महिनामा फेसबुक, इन्स्टाग्रामजस्ता प्लेटफर्म चलाउने मेटा कम्पनीलाई १ अर्ब २० करोड युरो जरिवाना गरेको थियो। यद्यपि अहिलेको जरिबाना टिकटकमाथि गरिएको ठूलो जरिवाना हो। सन् २०२० मा यूकेको नियामक निकायले १३ वर्षमुनिका बालबालिकालाई टिकटक प्रयोग गर्न दिएको भन्दै १ करोड ७० लाख पाउन्ड जरिवाना गरेको थियो। –बीबीसीबाट
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19