काठमाण्डौ । सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित सानिमा इक्विटी फन्डको नगद प्रतिफल इकाइधनीहरुको बैंक खातामा पठाउन थालिएको छ। 

योजना व्यवस्थापक सानिमा क्यापिटलले आज एक सूचना प्रकाशित गरी सानिमा इक्विटी फन्डको आर्थिक वर्ष २०७९–८०को नगद प्रतिफल सोमबार (असोज २२ गते)बाट इकाइधनीहरुको बैंक खातामा पठाउन थालिएको जानकारी गराएको हो। 

गत असोज १३ गतेसम्म कायम इकाइधनीहरुको डिम्याट खातामा उल्लेखित बैंक खातामा नगद लाभांश पठाउन सुरु गरिएको क्यापिटलले जनाएको छ। 

नियमानुसार लाग्ने कर कट्टा गरी आईपीएसमार्फत नगद लाभांश जम्मा गरिएको क्यापिटलले स्पष्ट पारेको छ। नगद प्रतिफल जम्मा भए नभएको यकिन गर्न र डिम्याट खातामा बैंक खाता अद्यावधिक गर्न पनि क्यापिटलले आग्रह गरेको छ। 

आफ्नो इकाइ धितो राखेर इकाइधनीहरुको हकमा प्रतिफल प्राप्त गर्न सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट नो अब्जेक्सन लेटर वा फुकुवापत्र अनिवार्य पेस गरेपश्चात मात्रै बैंक खातामा नगद प्रतिफल जम्मा गरिने पनि क्यापिटलले जनाएको छ।