काठमाण्डौ। अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रले गति लिन थालेको बताएका छन् । 

मंगलबार त्रिविवि शिक्षण अस्पतालको मङ्गलादेबी बर्थिङ सेन्टरको उद्घाटन गर्दै उनले भने, अहिले रेमिटेन्स वृद्धि भइरहेको छ । पर्यटन व्यवसायमा उत्साह छाएको छ । यसले अर्थतन्त्रको गतिलाई बृद्धि गर्छ । त्यसकारण निराश हुनुपर्ने अवस्था छैन ।’

उनले अर्थतन्त्रलाई अगाडि बढाउनको लागि आत्मविश्वास जगाउनुपर्ने आवश्यकता रहेको भन्दै यसका लागि नागरिक समाज, सरकार, निजी क्षेत्र र सबै मिलेर अगाडि बढ्नु पर्ने बेला आएको बताए ।

उनले अव खर्च गर्न डराउन नहुने भन्दै भोलिका अनिश्चित भविष्यलाई सम्झेर मानिसहरु खर्च गर्न डराएको स्थिति हटेको पनि बताए । साथै उनले  प्रतिफल आउँदैन कि भनेर लगानीकर्ताहरु डराएको स्थितिले गर्दा नै आम मानिसमा आत्मविश्वास घट्दा रोजगारी र आयमा असर परेको बताए ।

नेपालको विकासमा भारतीय सहयोग महत्वपूर्ण रहेको भन्दै उनले स्मल ग्रान्ट परियोजना अन्तरगत भारत सरकारले २० वर्षदेखि लगातार नेपालको महत्वपूर्ण क्षेत्रमा सहयोग गर्दै आएको  बताए ।

उनले आफू निक्कै अप्ठ्यारो समयमा अर्थमन्त्री बनेको बताउँदै कोभिडको प्रभावले आर्थिक गतिविधिमा शिथिलता र मानिसहरुमा निराशा थियो । तर, अर्थतन्त्रले अहिले विस्तारै गति लिन थालेको धारणा राखे ।