काठमाण्डौ । विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिमा कम्पनीले ६ करोड १५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ७२.६५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले ३ करोड ५६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। 

पहिलो त्रैमासमा कम्पनीले ९ करोड ७९ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा ७ करोड ४ लाख रुपैयाँ थियो। सञ्चालन मुनाफा ३९.०५ प्रतिशतले बढेको छ। 

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ४५.०४ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट १० करोड १२ लाख रुपैयाँ आर्जन गरेकोमा समीक्षा अवधिमा बढेर १४ करोड ६८ लाख रुपैयाँ पुगेको छ।

चुक्तापुँजी १ अर्ब ५ करोड रुपैयाँ रहेको कम्पनीको ईपीएस ५.८६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ११९.५६ रुपैयाँ रहेको छ।