-अर्जुन तिमिल्सिना 
काठमाण्डौ । अहिले बैंक तथा वित्तीय क्षेत्रमा झण्डै ६ खर्ब रुपियाँ तरलता रहेको छ । रेमिट्यान्स पनि बढ्दो अवस्थामा नै छ । सरकारको चालू खाता पनि बचतमा नै छ । ब्याजदर घट्दो क्रममा नै छ ।

यद्यपि सेयरबजार भने क्रमिक रुपमा नै घट्दो क्रममा छ । गत साउन ७ गते यता नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गरेपछि त पूँजीबजार झण्डै २०० अंकले गिरावट आइसकेको छ ।

नियामक निकायको नीतिले गिजोलिएको भनिएको पूँजीबजारमा देशमा हुन लागेको केहि दल र व्यक्तिको आन्दोलनले भने फेरि लगानीकर्ताहरुमा अन्यौल्ता छाएको छ । चरम निरासा छाएको पूँजीबजारमा बिहीबार हुने भनिएको आन्दोलनको स्वरुप र यसले पार्नसक्ने प्रभावको विषयमा लगानीकर्ताहरुमा निकै जिज्ञासा छाएको पाइन्छ ।

यसै विषयलाई लिएर हामीले केही ब्रोकर सञ्चालक र लगानीकर्तासँग विगतमा पूँजीबजारमा आन्दोलनबाट परेको प्रभाव बारे जिज्ञासा राखेका छौं । 

यसैसन्दर्भमा कालिका सेक्युरिटिज स्टक ब्रोकर नं ४६ का सञ्चालक नरेन्द्र सिजापतिले अहिलेको यो विन्दुमा सेयर किन्न सक्नेका लागि भविष्यमा निकै राम्रो लगानी हुन सक्ने बताए ।  उनको विचारमा ढिलोचाँडो बजार अब दुई/ तीन गुणा बढ्न सक्छ । हरेक आन्दोलनले बजार बढेको छ । सुरुका दिनमा आन्दोलनका क्रममा बजारमा दबाब सृजना हुने गरेता पनि अन्त्यमा बजार सकारात्मक बाटोमा नै अगाडि बढ्छ ।

उता भिजन सेक्युरिटिज स्टक ब्रोकर नं ३४ का सञ्चालक राजकुमार तिमिल्सिना चाहिं विगतका आन्दोलनलाई हेर्ने हो भने आन्दोलनको समयमा बजार बढेकै इतिहास रहेको बताउँछन् ।

उनका अनुसार २०६२/६३ को आन्दोलमा पनि पूँजीबजार उकालो नै लागेको थियो । उनी भन्छन्, ‘विगतको आन्दोलनलाई आधार मानेर हेर्दा जुनसुकै आन्दोलनले पनि पूँजीबजारलाई सकारात्मक बनाएको थियो । आन्दोलन राम्रो होइन तर त्यो बेलामा आन्दोलनकै कारण बजार बढ्यो किनकी लगानीकर्ताले पनि नयाँ शासन व्यवस्थाबाट आर्थिक समृद्धिको आसा गरेका हुन्छन् ।’

उनका अनुसार जुनसुकै व्यक्ति तथा सँस्थाले गरेको आन्दोलनको एजेण्डा अनावश्यक खर्च कटौती हुनुपर्छ । यदि जनतालाई  आर्थिक भार कम हुने अवस्था भएमा यसले पूँजीबजारलाई पनि राम्रो प्रभाव पार्दछ ।  

त्यसैगरि, बजार जानकार उपेन्द्र पाठकले आन्दोलनले पूँजीबजारलाई सकारात्मक नै प्रभाव पार्ने बताए । उनी भन्छन्, ‘किनकि अन्य क्षेत्र ठप्प भएपछि मान्छे घरमा नै बसेर काम गर्छन् । अहिले घरमा नै बसेर गर्ने काम भनेको सेयर बजार नै हो । सबैले टीएमएस खोलेकै छन् । त्यसैले आन्दोलनले बजारलाई सकारात्मक प्रभाव पार्छ ।’

यद्यपि आन्दोलन सामान्य हुने भएता पनि अब सरकारले पनि पूँजीबजारलाई सम्बोधन गर्न लागेकोले बजार सकारात्मक नै हुने उनको बिचार छ । ब्रोकर हाउसमा नै भेटिएका केही लगानीकर्ताहरुले पनि आन्दोलनले बजारलाई सकारात्मक बाटोतर्फ लैजाने बताएका छन् ।

उनीहरुका अनुसार यसले नियामक र सरकारलाई नीति नियममा लचक हुन दबाब दिन्छ । अहिलेको आवश्यक्ता भनेको नीति नियममा लचक बनेर अर्थतन्त्र चलायमान बनाउने नै हो ।