काठमाण्डौ । दोश्रो बजारमा सूचीकृत दुई जलविद्युत कम्पनीले लगानीकर्तालाई निराश बनाउँदै लाभांशबिना नै आफ्नो वार्षिक साधारणसभा आह्वान गरेका छन् । 

हिमालयन पावर पार्टनर लिमीटेड र त्रिशुली जलविद्युत कम्पनी लिमीटेडले लाभांशबिना नै वार्षिक साधारणसभा आह्वान गरेका हुन् । 

हिमालयन पावर पार्टनर लिमीटेडको मंसिर २९ गतेका दिन बसेको सञ्चालक समितिको ५८ औं बैठकले आफ्नो ११ औं वार्षिक साधारणसभा पुस २५ गते बुधबारका दिन बिहान ९ बजे काठमाण्डौको लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा गर्ने निर्णय गरेको हो । 

कम्पनीले साधारणसभा प्रयोजनका लागि पुस १२ गते एक दिन बुक क्लोजको घोषणा गरेको छ । कम्पनीको साधारणसभामा सहभागी हुन चाहनेले पुस ११ गतेभित्र सेयर किनेर सेयरधनी भइसक्नुपर्नेछ । 

साधारणसभामा गत वर्षको वार्षिक प्रतिवेदन, वार्षिक आर्थिक विवरण, लेखापरीक्षककको प्रतिवेदन, नाफा नोक्सान हिसाब अनुमोदनका लागि प्रस्तुत हुनेछ । 

कम्पनीले आफ्नो चुक्तापूँजी र सञ्चित मुनाफाभन्दा बढी हुने गरी लिएको ऋण अनुमोदनको अजेण्डा समेत प्रस्तुत हुने बताइएको छ । 

उता, त्रिशुली जलविद्युत कम्पनी लिमीटेडको पुस १ गते बसेको २१५ औं बोर्ड बैठकले १२ औं वार्षिक साधारणसभा पुस २४ गते मंगलबार बिहान ११ बजे काठमाण्डौको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा आह्वान गरेको छ । 

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदनसहित २०८० असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण अनुमोदनका लागि पेश हुनेछ । 

कम्पनीले साधारणसभा प्रयोजनका लागि पुस १७ गते एकदिनका लागि बुक क्लोजको घोषणा गरेको छ । 

यो कम्पनीको साधारणसभामा सहभागी हुन चाहनेले पुस १६ गतेभित्र सेयर खरीद गरी सेयरधनी कायम भइसक्नुपर्नेछ ।