काठमाण्डौ । नियामकको कडाई र पटक पटकको प्रहारबाट निजी क्षेत्रबाट सञ्चालित कम्पनीहरु आर्थिक रुपले धराशायी बनेका छन् । तर, अर्थतन्त्रका लागि विषम यही परिस्थितिमा सरकारी लगानीका कम्पनीहरु भने मालामाल बनिरहेका छन् । 

सर्वसाधारण लगानीकर्ताको समेत लगानी रहेका कम्पनीको कुरा गर्दा उनीहरुको लाभांश क्षमता यो वर्ष ह्वात्तै घटेको छ । यो वा त्यो बाहानामा उनीहरुको आम्दानी, नाफा लगायतमा कटौति हुँदा कम्पीनहरु दुब्लाइरहेका देखिन्छ । 

सर्वसाधारणको लगानी रहेका कम्पनीहरु वित्तीय रुपले कमजोर बनिरहेकै बेला सरकारी लगानीका कम्पनी भने मालामाल छन् । केही दिनअघि सिडिएसस एण्ड क्लियरिङ लिमीटेडले सतप्रतिशत लाभांश वितरणको प्रस्तावसहित साधारणसभा आह्वान गरेको थियो । 

हिजो मात्रै साधारणसभा सकेको नेपाल क्लियरिङ हाउसले पनि बम्पर लाभांश पारित गरेको छ । 

यो लाइनमा नेपालको दोश्रो बजारको फ्रन्टलाइन रेगुलेटर नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से) पनि देखिएको छ । पूर्ण सरकारी स्वामित्वको नेप्सेले आर्थिक वर्ष २०७९-८० को नाफाबाट चुक्तापूँजीको ६४ प्रतिशत नगद लाभांश(करसहित) वितरणको घोषणा गरेको छ। 

हाल नेप्सेको चुक्तापूँजी १ अर्ब रुपैयाँ छ । यसको अर्थ लगानीकर्ताहरुबाट विभिन्न शुल्कका नाममा गरिएको आम्दानीबाट नेप्सेले ६४ करोड रुपैयाँ बराबरको बम्पर लाभांश वितरण गर्ने तयारी गरेको हो । 

सतप्रतिशत लाभांशको प्रस्तावसहित साधारणसभा आह्वान गर्ने सिडिएस एण्ड क्लियरिङ लिमीटेड नेप्सेको सहायक कम्पनी हो । 

नेप्सेले आगामी पुस २९ गते आफ्नो ४२ औं वार्षिक साधारणसभा आह्वान गरेको छ । नेप्सेको कार्यालयमै बिहान ११ बजे सभा आह्वान गरिएको छ । 

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले वार्षिक प्रतिवेदन पेश गरी पारित गर्ने लगायतका नियमित अजेण्डाहरु पेश हुनेछन् ।