काठमाण्डौ । सुदूरपश्चिम प्रदेशमा प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरूले संकलन गरेको कुल निक्षेप १६.०९ प्रतिशतले वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकले सुदूरपश्चिम प्रदेशको प्रादेशिक आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन २०७९र८० ले यस्तो देखाएको हो ।

प्रतिवेदनअनुसार समिक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाले संकलन गरेको कुल निक्षेप २०७९ असार मसान्तको तुलनामा १६.०९ प्रतिशतले बढ्न गई रु. १ खर्ब ३४ अर्ब २६ करोड २० लाख पुगेको छ । गत वर्ष सोही अवधिमा यस्तो निक्षेप ५.८६ प्रतिशतले वृद्धि भएको थियो ।

२०८० असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जा २०७९ असार मसान्तको तुलनामा १.५० प्रतिशतले वृद्धि भई रु. १ खर्ब ५१ अर्ब ७१ करोड २९ लाख पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा १७.४२ प्रतिशतले वृद्धि भएको थियो ।

समीक्षा वर्षसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले संकलन गरेको निक्षेपमा कैलाली जिल्लाको अंश सबैभन्दा बढी अर्थात् ४७.२८ प्रतिशत र बाजुरा जिल्लाको अंश सबैभन्दा कम अर्थात्२.५० प्रतिशत रहेको छ । त्यसैगरी, समीक्षा वर्षसम्ममा अध्ययन क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गरेको कुल कर्जामा कैलाली जिल्लाको अंश सबैभन्दा बढी अर्थात् ६८.७९ प्रतिशत र बाजुरा जिल्लाको सबैभन्दा कम अर्थात्०.९८ प्रतिशत प्रतिशत रहेको छ । 

२०८० असार मसान्तसम्म कुल निक्षेपकर्ताको संख्या २०७९ असार मसान्तको तुलनामा १३.७७ प्रतिशतले बढ्न गई ३४ लाख ३६ हजार ६ सय ७३ पुगेको छ भने कुल ऋणीको संख्या गत आ.व.को तुलनामा ७.६० प्रतिशतले घट्न गई ९९ हजार ७ सय ६१ पुगेको देखिन्छ ।
२०८० असार मसान्तसम्म विपन्न वर्गको कर्जा २०७९ असार मसान्तको तुलनामा ३.० प्रतिशतले घट्न गई ११ अर्ब ७१ करोड पुगेको छ । गत वर्ष सोही अवधिमा यस्तो कर्जा ४.४३ प्रतिशतले वृद्धि भएको थियो ।

यसैगरी, २०८० असार मसान्तसम्म सहुलियतपूर्ण कर्जा २०७९ असार मसान्तको तुलनामा ८.३९ प्रतिशतले घट्न गई ९ अर्ब ६७ करोड पुगेको छ । गत वर्ष सोही अवधिमा यस्तो कर्जा ४०.२४ प्रतिशतले वृद्धि भएको थियो । पुनरकर्जा भने समीक्षा वर्षमा प्रवाह भएको छैन् ।
समीक्षा वर्षमा सुदूरपश्चिम प्रदेशमा वाणिज्य बैंकका ३३०, विकास बैंकका ५२, वित्त कम्पनीका ५ तथा लघुवित्त वित्तीय संस्थाका ४५९ गरी जम्मा ८४६ शाखा सञ्चालनमा छन्।

यसमध्ये कैलाली जिल्लामा सबैभन्दा बढी ३६१ तथा बाजुरा जिल्लामा सबैभन्दा कम २८ शाखा सञ्चालनमा छन् । गत वर्ष सोही अवधिमा यस प्रदेशमा वाणिज्य बैंकका ३२९,विकास बैंकका ५२, वित्त कम्पनीका ६ तथा लघुवित्त वित्तीय संस्थाका ४५३ गरी जम्मा ८४० वटा बैंक तथा वित्तीय संस्थाका शाखाहरु सञ्चालनमा रहेका थिए ।