काठमाण्डौ । सूचना तथा संचार राज्यमन्त्री गोकुल बास्कोटाले नेपाल टेलिकमभित्र पानी धमिल्याएर माछा मार्ने खेल भइरहेको भन्दै कर्मचारीलाई थर्काएका छन् । 

बास्कोटाले आफूलाई सत्य बुुझ्न र तथ्य केलाउन आउने उल्लेख गर्दै पानी धमिल्याएर माछा मार्ने कोशिश गरिरहेकाहरुविरुद्ध मन्त्रालयले अपरेसन चलाउनसक्ने चेतावनी समेत दिएका छन् । 

नेपाल टेलिकमले शुक्रबार नमस्ते क्रेडिट कार्ड सेवाको शुुभारम्भ गर्न आयोजना गरेको औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै संचार राज्यमन्त्री बास्कोटाले त्यस्तो चेतावनी दिएका हुन् । 

‘टेलिकमभित्रबाटै दुष्प्रचार गरी माहौल बिगार्नेहरुलाई म कडा चेतावनी दिन चाहन्छु।’ बास्कोटाले भने–‘तपाईको दवाब सुन्दैनौ र सहदैनौ । आवश्यक परे मन्त्रालय अपरेसन चलाउन समेत तयार छ ।’ 

स्रोतकाअनुसार उनले चेतावनी दिएका लक्षित समूह २ वटा रहेका छन् । एउटा समूहले पछिल्लो कालमा नयाँ सरकारको गठनको प्रयास हुँदै गर्दादेखि विभिन्न अनलाइनहरु प्रयोग गरी टेलिकम नेतृत्वको बिषयमा प्रचारबाजी गरिरहेको मन्त्रीको बुुझाई छ । टेलिकमको नेतृत्वले राम्रो काम गर्दा समेत सहयोग गर्नुको साटो कम्पनीभित्रकै कर्मचारीले नियोजित रुपमा केही मिडिया प्रयोग गरी दुुष्प्रचार गरिरहेका आफूले बुुझेको मन्त्रीको आशय हो । राज्यमन्त्री बास्कोटा त्यस्ता चलखेल गर्ने टेलिकमका कर्मचारीलाई कडा कारबाही गरी व्यवस्थापनलाई ढुक्कले काम गर्नसक्ने वातावरण बनाउने पक्षमा छन् । 

दोश्रो, मन्त्रीको अभिव्यक्ति टेलिकमभित्रकै युनियनगिरीविरुद्ध समेत लक्षित रहेको स्रोत बताउँछ । केही समयअघि युनियनले मन्त्रीलाई समेत चेतावनी दिने, वातावरण बिगार्ने लगायतको प्रयास गरेकोले मन्त्री उनीहरुबाट रुष्ट रहेका बताइएको छ । 

युनियनवालाहरुलाई लक्षित गर्दै उनले ‘पानी धमिल्याएर माछा मार्ने कोशिश भएको’ बताएका हुन् । उनले आफूले पनि केही कुरा बुुझेको र सुनेको उल्लेख गर्दै अनावश्यक चलखेल बन्द गरी टेलिकमलाई सशक्त कम्पनी बनाउने कार्यमा लागिपर्न समेत आग्रह गरे । 

राज्यमन्त्री बास्कोटाले टेलिकमले प्रिपेड ग्राहकहरुका लागि ल्याएको सापटी सेवा केही ढिलो भए पनि राम्रो कामको सुरुवात भएको बताए । उनले नेपाल टेलिकमका सेवाहरुको समयमै प्रचारप्रसार हुनुुपर्ने उल्लेख गर्दै आक्रामक रणनीतिका साथ अगाडि बढ्न नेतृत्वलाई आग्रह गरे । ‘टेलिकमले आफ्नो क्षमतालाई प्रतिस्पर्धी बनाउन आवश्यक छ ।’ उनले भने–‘यसले दिने सेवाप्रति विश्वास जगाउन तथा गुणस्तर कायम गर्न समेत उत्तिकै आवश्यक छ ।’