काठमाण्डौ । इन्साइडर ट्रेडिङमा सहयोग हुने गरी लाभांश वितरणको निर्णय भएको १६ दिनपछि सार्वजनिक गरेको युनिलिभर नेपाल लिमीटेडलाई नेप्सेले आइन्दा यस्तो गल्ती नदोहोर्याउने शर्तमा माफी दिएको छ । 

नेप्सेले आइतबारदेखि निलम्बनमा राखेको युनिलिभरको कारोबार समेत फुकुवा गरिएको बताएको छ । 

नेप्सेले मंगलबार अपरान्ह एक सूचना जारी गर्दै युनिलिभरसँग माग गरिएको स्पष्टीकरण चित्तबुझ्दो नदेखिएको प्रष्ट पारेको छ । तर, स्पष्टीकरण नै चित्तबुझ्दो नहुँदा नहुँदै आइन्दा गल्ती नगर्ने सामान्य चेतावनीमै बजारकै महङ्गो सेयर मूल्य भएको कम्पनीलाई किन छाडियो भन्ने कुरा अनुत्तरित बनेको छ । 

‘धितोपत्रहरुको बजार मूल्यलाई प्रभाव पार्ने सूचनाहरु तत्काल निर्णय हुनासाथ उपलब्ध गराउनुपर्ने कानूनी प्रावधानअनुसार त्यस संगठित संस्थाले कार्य गरेको नदेखिएकोले स्पष्टीकरण माग गर्दा त्यहाँ कम्पनीले पेश गरेका स्पष्टीकरणहरु सन्तोषजनक देखिएन ।’ नेप्सेले सूचनामा प्रष्ट रुपमा भनेको छ–‘अब उप्रान्त प्रचलित कानूनका व्यवस्थाहरु  तोकिए बमोजिम गर्न र यस्ता गल्ती नदोहोर्याउन समेत सचेत गराइएको छ ।’

कसैलाई कारबाहीका लागि माग गरिएको स्पष्टीकरण चित्तबुझ्दो नभए उसको दोष प्रमाणित हुन्छ र कडा भन्दा कडा कारबाही हुन्छ । तर, नेप्सेले भने युनिलिभर प्रकरणमा लचकता देखाएको छ ।  

यसअघि नेप्सेले यस्तै प्रकृतिको घटनामा एचआइडिसीएललाई समेत गल्ती नदोहोर्याउने शर्तमा छाडिएको बताएको थियो । 

नेप्सेले आम माफीको शैलीमा गल्ती नदोहोर्याउने गरी सचेत गराउने यो क्रमले यस्ता संगठित संस्थाको चलखेलबाट हुने इन्साइडर ट्रेडिङ र त्यसबाट डूबेका लगानीकर्ताको घाउमा भने मल्हमपट्टि लाग्न नसकेको देखिन्छ । 

सर्वसाधारणलाई डूबाउने गरी सेयर मूल्यमा चलखेल गर्ने यस्ता कम्पनीहरुलाई सामान्य रुपले सचेत गराएर मात्रै छाडिदिंदा भोलिका दिनमा यस्ता घटना फस्टाउने र सोझा लगानीकर्ता यस्तो चलखेलको शिकार बन्ने संभावना अझै बढ्नसक्छ । 

युनिलिभर नेपाल लिमीटेडले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट लगानीकर्तालाई लाभांश वितरणको निर्णयको निकै पछि मात्र नेप्सेलाई जानकारी गराएपछि इन्साइडर ट्रेडिङ गर्नेलाई कम्पनीले सहयोग गरेको देखिएको भन्दै नेप्सेले २ दिनअघि(आइतबार) २४ घण्टे स्पष्टीकरण सोधेको थियो । 

यो कम्पनीले भदौ १२ गते लाभांश  वितरण सम्बन्धी निर्णय गरी त्यसको जानकारी नेप्सेलाई भदौ २८ गते मात्र गराएको थियो । यसरी निर्णय भएको १६ दिनसम्म इन्साइडर ट्रेडिङ गर्नेलाई कम्पनीले जानाजान सहयोग गरेको देखिन्छ । 

यही बिषयलाई उठाउँदै नेप्सेले धितोपत्रहरुको बजार मूल्यलाई प्रभाव पार्ने सूचनाहरु तत्काल(निर्णय हुनासाथ) उपलब्ध गराउनुपर्ने धितोपत्र सूचिकरण विनियमावली २०७५ को विनियम २२ को उपविनियम १ को खण्ड(ङ) युनिलिभरले उल्लंघन गरेको देखिएको भन्दै स्पष्टीकरण सोधेको थियो ।