काठमाण्डौ । नेपाल बैंकर्स संघ(एनबिए)को निर्णयविपरीत घुमाउरो ढंगले अग्रीम ब्याज भुक्तानीको स्किम ल्याउँदै मुद्धती निक्षेपमा साढे १२ प्रतिशतसम्मको रिटर्न अफर गरेपछि नवील बैंकले बैंकरहरुबीचको भद्र सहमतिलाई चुनौति दिएको चर्चा बैकिङ क्षेत्रमा चुलिएको छ । 

बैंकरहरुबीच साधारण बचतमा ८ र मुद्धती बचतमा ११ प्रतिशत भन्दा बढी ब्याज नदिने सहमति भएको थियो । 

पछिल्लो समय बैंकहरु निक्षेप तान्नैका लागि किन यति धेरै आक्रामक भइरहेका हुन् ?
-ज्ञानेन्द्र ढुंगाना, अध्यक्ष(एनबिए)

एनआइसी एशिया बैंकले केही दिनअघि साधारण बचतमा १० र मुद्धतीमा १२ प्रतिशतको ब्याज अफर गरेपछि त्यसले भद्र सहमति तोडिएको भन्दै एनबिएले बैंकलाई अन्तरबैंक कारोबारमा सहभागी नगराउनेसम्मको निर्णय गरेको थियो । एनबिएले कडा कदम चालेपछि एनआइसी एशियाले बाध्य भई आफ्नो निर्णय फिर्ता लिनुुपरेको थियो । 

एनआइसी एशियामाथि एनबिएले लादेको प्रतिबन्ध फिर्ता गर्दै गर्दा बैंकरहरुबीचको भद्र सहमति उल्लंघन गरे त्यसले सिस्टेमिक रिस्क(प्रणालीगत जोखिम) ल्याउने भन्दै अन्य सदस्य बैंकहरुलाई समेत आगामी दिनमा यस्तो काम नगर्न एनिबएका पदाधिकारीहरुले चेतावनी दिएका थिए । एनबिएको बैठकमा समेत भद्र सहमति कायम गराइराख्न सबैले आ–आफ्नो क्षेत्रमा प्रतिबद्ध र इमानदार हुुनुुपर्ने सहमति समेत भएको थियो । 

तर, बैंकरहरुबीचको सहमतिलाई चुनौति दिंदै नवील बैंक लिमीटेडले मुद्धती निक्षेपमा अग्रिम ११ प्रतिशत ब्याज दिने स्किम ल्याएको थियो । अग्रिम ब्याज भुक्तानीको यो स्किमअन्तर्गत ११ प्रतिशत ब्याज अग्रिम दिने भनिए पनि वास्तविक रुपमा साढे १२ प्रतिशतसम्म पाइने भएपछि यसले बैकिङ क्षेत्रमा नयाँ बहस सिर्जना गरेको थियो । नवीलले सुन्नमा ११ प्रतिशत नै ब्याज अफर गरे पनि घुमाउरो ढंगले साढे १२ प्रतिशतसम्म ब्याज दिने अफर सार्वजनिक गरेलगत्तै नवीलमाथि पनि कारबाही हुनुुपर्ने आवाज घनिभूत भइरहेको छ । एनआइसी एशियामाथि त्यति धेरै आक्रामक बनेको एनबिए नेतृत्व नवीलमाथि चाहि किन नरम रणनीति अपनाइरहेको छ ? भन्ने प्रश्न समेत उठ्न थालेको छ । 

आफूहरुलाई च्याप्ने एनबिएले नवीलको निर्णयलाई सामान्य भनिदिएपछि एनआइसी एशियाले समेत अग्रिम ब्याज भुक्तानीको अफर नवील लगत्तै लञ्च गरिदिएको थियो । अन्य केही बैंकहरुले पनि अग्रीम ब्याज भुक्तानीको स्किम ल्याएपछि यसले एनबिएलाई चुनौति दिएको र सिस्टेमिक रिस्कको जोखिम तीव्र रुपमा बढेको भन्दै नवील लगायतलाई यो स्किम फिर्ता गराउन केही बैंकरहरुले दवाब सिर्जना गर्न थालेका छन् । 

स्रोतका अनुसार अधिकांश बैंकका सीइओहरुले नवीलले घुमाउरो ढंगले भद्र सहमति उल्लंघन गरेको भन्दै निर्णय फिर्ता गराइनुपर्ने भनी एनबिएका अधिकारीहरुलाई निरन्तर दवाब दिइरहेका छन् । एनआइसी एशियामाथि हाबी हुने एनबिएले नवीललाई समेत कारबाही गर्न वा निर्णय फिर्ता गराउन सक्नुुपर्ने तर्क समेत उठिरहेको छ । 

एनबिएका पदाधिकारी समेत निक्षेप तान्नैका लागि बैंकहरु पछिल्लो समय बढी नै आक्रामक बनिरहेका हुन् कि भन्ने विश्लेषण गरिरहेका छन् । ‘हामीबीचको भद्र सहमति अग्रीम ११ प्रतिशत ब्याज दिने भन्ने कुराले उल्लंघन भएको देखिदैन ।’ बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले भने–‘तर, अग्रीम ब्याज भुक्तानीको हिसाब गर्दै जाँदा समग्रमा बढी नै पुुगेको भन्ने गुनासो आउनुु पनि अस्वभाविक होइन ।’ उनले पछिल्लो समय बैंकहरु निक्षेप तान्नैका लागि किन यति धेरै आक्रामक भइरहेका हुन् ? आफूले बुुझ्न नसकेको बताए । 

उनले नवील वा अन्य बैंकले ११ प्रतिशत अग्रिम ब्याज भुक्तानी गर्न मिल्ने स्पष्ट पार्दै भने–‘अग्रीम ब्याज भुक्तानीको स्किम फिर्ता गराउने वा नगराउने भन्ने बिषयमा हामीबीच छलफल भइसकेको छैन । तर, बैंकहरु सम्हालिएर अगाडि बढ्नुुपर्छ ।’