काठमाण्डौ । बैंकको ब्याजदर निरन्तर घट्ने क्रम देखिएको छ । विगतमा मनोमानी ढंगले ब्याजदर बढाएर विवादमा फस्दै आएको एनआईसी एशिया बैंकले माघका लागि निक्षेपको ब्याजदर पुनः ह्वात्तै घटाएको छ । 

माघ १ गतेदेखि लागू हुने गरी एनआईस एशिया बैंकले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर न्यूनतम ६.२५० प्रतिशत कायम गरेको हो । 

माघ १ गतेदेखि एनआईसी एशिया बैंकमा ३ देखि ६ महिनाका लागि मुद्दति निक्षेप राख्न चाहनेले व्यक्तिगततर्फ सो ब्याज पाउनेछन् ।

६ महिनादेखि ९ महिना अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ६.७५० प्रतिशत तोकिएको छ । ९ महिनादेखि १२ महिना अवधिको मुद्दति निक्षेपको ब्याजदर ७ प्रतिशत, १२ महिने अवधिका लागि ७.२५० प्रतिशत, १२ देखि १८ महिनेका लागि ७.५०० प्रतिशत, १८ महिनादेखि २४ महिने अवधिका लागि ७.७५० प्रतिशत र २४ महिनादेखि माथि १८० महिनासम्मको मुद्दति निक्षेपको ब्याजदर ८.०६५ प्रतिशत तोकिएको छ । 

संस्थागत मुद्दति निक्षेपतर्फ ६ देखि ९ महिना अवधिदेखि बढीका सबै स्किममा व्यक्तिगतमा तोकिएभन्दा २ प्रतिशत कम ब्याजदर तोकिएको छ । 

एनआईसी एशिया बैंकले माघका लागि बचतको ब्याजदर अधिकतम ३.९८९ प्रतिशतमा सीमित गरेको छ ।