काठमाण्डौ । सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा ४.७० प्रतिशतले वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकले सुदूरपश्चिम प्रदेशको प्रादेशिक आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन २०७९र८० ले यस्तो देखाएको हो ।

प्रतिवेदनअनुसार समिक्षा वर्षमा सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा २०७९ असार मसान्तको तुलनामा ४.७० प्रतिशतले वृद्धि भई रु.२६ अर्ब ८९ करोड २ लाख पुगेको छ ।

गत वर्षको सोही अवधिमा यस्तो कर्जा ४.२१ प्रतिशतले घटेको थियो । कुल प्रवाहित कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित भएको कर्जाको अंश १७.७२ प्रतिशत रहेको छ । समीक्षा वर्षसम्ममा कुल औद्योगिक कर्जामध्ये खानी सम्बन्धी उद्योगमा प्रवाहित कर्जा सबैभन्दा बढी ३०.३२ प्रतिशतले वृद्धि भएको छ भने विद्युत, ग्यास तथा पानी सम्बन्धी उद्योगमा सबैभन्दा बढी ७.७१ प्रतिशतले ह्रास आएको
छ । 

कुल औद्योगिक कर्जामध्ये कृषि, वन तथा पेय पदार्थ उत्पादन सम्बन्धी उद्योगमा ४०.८४ प्रतिशत, गैर खाद्यवस्तु सम्बन्धी उद्योगमा २९.७८ प्रतिशत, निर्माण सम्बन्धी उद्योगमा २०.५७ प्रतिशत, धातुको उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिक उद्योगमा ६.९६ प्रतिशत, विद्युत, ग्याँस तथा पानी उद्योगमा १.१० प्रतिशत र खानीसम्बन्धी उद्योगमा ०.७५ प्रतिशत अंश रहेको छ ।

समीक्षा वर्षमा यस प्रदेशमा प्रवाह भएको कुल औद्योगिक कर्जामध्ये कैलाली जिल्लाको अंश सबैभन्दा बढी ७८.४८ प्रतिशत रहेको छ भने बझाङ जिल्लाको अंश सबैभन्दा कम ०.३१ प्रतिशत रहेको छ । यसैगरी, कञ्चनपुर, डडेल्धुरा,डोटी, दार्चुला, अछाम, बैतडी तथा बाजुराको अंश क्रमशः १६.५६ प्रतिशत, १.६० प्रतिशत, १.०४ प्रतिशत, ०.४२ प्रतिशत, ०.६९ प्रतिशत, ०.५२ प्रतिशत र ०.३८ प्रतिशत रहेको छ ।