काठमाण्डौ । यतिबेला सेयर लगानीकर्ताबिच नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)को लक–इन पिरियडको विषय  ‘हट केक’ बनेको छ । निफ्राको सेयर बाँडफाँड भएको लगभग तीन वर्ष पुग्न लागेसँगै आम लगानीकर्ताबीच लकइन पिरियडको चर्चा चुलिन थालेको हो । 

बैंकले गत २०७७ माघ २ गतेदेखि माघ ६ गतेसम्म ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आईपीओ निष्कासनको बिक्री खुलाएको थियो । 

निफ्राको आईपीओ २०७७ माघ १६ गते बाँडफाँड भएको थियो । कुल आवेदनमा सदर आवेदक १४ लाख ७५ हजार ८ जनाले अधिकतममा ६० कित्ता सेयर प्राप्त गरेका थिए । 

लक-इन पिरियड समाप्त हुने संघारमा पुगेसँगै बजारमा कम्पनीको सेयरको सप्लाई बढ्ने विषयमा लगानीकर्ताको चासो देखिएको छ । कतिपयमा चाहिँ भ्रम समेत देखिएको छ । केही टाठाबाठाले लकइन पिरियडको हाउगुजी देखाएर यो कम्पनीको सेयर कौडीको भाउमा खरीद गरिरहेका छन् । 

धेरै सोझा लगानीकर्तामा यसको लकइन पिरियड सकिन लागेको र एकैपटक ठूलो सप्लाई आई सेयरमूल्य प्रभावित हुने हाउगुजी देखिएको छ । तर वास्तविकता लगानीकर्ताले आँकलन गरे जस्तो भने छैन । 

निफ्रा नेपाल राष्ट्र बैंकको नियमनमा पर्ने भएकाले अन्य कम्पनीको जस्तो व्यवस्था यसमा लागू हुँदैन । लकइन पिरियड सकिएपछि सबै संस्थापक सेयर साधारण सेयरमा परिणत हुने अन्य कम्पनी जस्तो व्यवस्था निफ्राको हकमा लागू हुँदैन । 

बीमा प्राधिकरण र नेपाल राष्ट्र बैंकले स्वीकृति दिएका कम्पनीबाहेकका नेप्सेमा सूचीकृत कम्पनीको संस्थापक सेयर आइपीओ बाँडफाँट भएको ३ वर्षसम्म लकइनमा रहने व्यवस्था छ । ३ वर्षको लकइन पिरियडपश्चात सबै सेयर सर्वसाधारण सेयरसरह नै कारोबार हुन्छ । यो व्यवस्था निफ्रामा लागू हुँदैन । 

यदि निफ्राले पूँजी संरचना परिवर्तन गर्नुपरेमा ९ प्रतिशत संस्थापक सेयर मात्रै सर्वसाधारण सेयरमा परिणत गर्नसक्छ । यसको पनि लामो प्रक्रिया हुन्छ । केन्द्रीय बैंकबाट यसको विषयमा पनि स्पष्ट स्वीकृति आउनुपर्छ । लकइन पिरियड खुलेपछि पनि संस्थापकबीच मात्रै सेयर खरिद बिक्री हुनेछ । जसको प्रभाव दोस्रो बजारमा पर्दैन । 

मुलुकमा बन्ने ठूला पूर्वाधारहरुका लागि आवश्यक वित्तीय स्रोत उपलब्ध गराउने लक्ष्यसहित सार्वजनिक–निजी साझेदारीको अवधारणामा यो बैंक स्थापना भएको हो। २० अर्ब चुक्तापुँजीको यो बैंकमा संस्थापक समूहको १२ अर्ब र सर्वसाधारणको ८ अर्ब लगानी छ। 

यो बैंकमा नेपाल सरकारको १० प्रतिशत लगानी छ। ५० प्रतिशत निजी क्षेत्रका प्रतिष्ठित व्यावसायिक घरानाहरुको लगानी छ। बैंकमा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, वाणिज्य बैंकहरु र बिमा कम्पनीहरु समेतको लगानी छ।