काठमाण्डौ । निक्षेपको ब्याजदर घटेसँगै वाणिज्य बैंकहरुको आधारदर सिंगल डिजीट(एकल अंक)मा झर्न थालेको छ । 

देशका ७ वटा वाणिज्य बैंकहरुको मंसिरको आधार दर सिंगल डिजीटमा झरेको देखिएको हो । यसको अर्थ बैंकहरुबाट कर्जा लिँदा ब्याजदर प्रत्येक महिना सस्तिरहेको छ भन्ने पनि हो । 

बैंकहरुको निक्षेपको लागत र अन्य खर्च कम भएका कारण आधारदर निरन्तर घटिरहेको हो । 

आधारदर एकल अंकमा रहेको बैंकहरुमा नेपाल एसबीआई बैंक, स्ट्याण्डर्ड चाटर्ड बैंक, सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक,एभरेष्ट बैंक र नेपाल बैंक रहेका छन् । यी मध्ये नेपाल स्ट्याण्डर्ड चाटर्ड बैंकको आधारदर सबैभन्दा कम छ । बैंकको आधारदर ७.७९ प्रतिशत रहेको छ । 

यस्तै पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको मंसिरको आधारदर ८.३९ प्रतिशत, एभरेष्ट बैंकको ८.९५ प्रतिशत, नेपाल बैंकको ९.०५ प्रतिशत, सानिमा बैंकको ९.५८ प्रतिशत, नबिल बैंकको ९.३० प्रतिशत र नेपाल एसबीआई बैंकको ९.८० प्रतिशत रहेको छ । 

बैंकहरुले कर्जाको ब्याजदर आधारदरका आधारमा निर्धारण गर्छन् । आधारदरमा प्रिमियम जोडेर त्यस्तो दर निर्धारण गर्ने गरिन्छ । लोन प्रवाह हुन नसकेको अवस्थामा कतिपय बैंकहरुले कतिपय ग्राहकलाई आधारदरमै पनि कर्जा उपलब्ध गराउने गरेका छन् । 

BANK SYMBOL Base Rate (Mangsir) %
SCB 7.77
RBB 8.39
EBL 8.95
NBL 9.05
NABIL 9.30
SANIMA 9.58
SBI 9.80