Real Estate Growth
काठमाण्डौ । कुनै बेला अचाक्ली बढेको घरजग्गाको भाउमा एक्कासी मन्दी आएपछि धेरै लगानीकर्ता, रियलस्टेटमा अन्धाधुन्ध लगानी गरेका बैंक तथा बित्तीय संस्था बर्बाद बने । कुनै समय यस्तो आयो, जुनबेला एकैदिन बिहान बैना गरेको जग्गा बेलुका नै फाइदा राखेर त्यो भन्दा बढीमा अर्कोलाई बिक्री गर्ने अवसर भयो । यो बेला जग्गा व्यापारी, दलालहरु मालामाल भए । यसको एउटा कारण छोटो समयमै मालामाल बन्ने भन्दै बैंकहरुले घरजग्गामा थुपारेको लगानी समेत थियो । जब राष्ट्रबैंकले घरजग्गा कर्जालाई नियन्त्रण गर्यो र यसको प्रभावले व्यापारमा मन्दी छायो, त्यसपछि रातारात करोडपति बनेकाहरु एकाएक रोडपति भए । बैंकहरु डूबे भने धेरैको उठीबास लाग्यो ।
त्यसपछि बैंक तथा बित्तीय संस्थाहरुले घरजग्गा कर्जा प्रवाहमा निकै सावधानी अपनाउने गरेका छन् । तर लामो समयको अन्तरालपछि देशका विभिन्न प्रमुख शहरहरुको घरजग्गा कारोबार फेरि बुम भएको छ । रियलस्टेटको व्यापार बुम भएसँगै यसमा प्रवाह भइरहेको कर्जालाई अझ नियन्त्रण गर्नुपर्ने माग उठ्न थालेको छ ।
केही साताअघि आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा आफ्ना सुझाव प्रस्तुत गर्ने क्रममा डेभलपमेन्ट बैंकर्स एशोसिएसनले लिखित रुपमै घरजग्गाको मूल्य पहिलाको भन्दा बुम भएको र यसले बैकिङ सम्पत्ति जोखिममा परेको भन्दै नियन्त्रणको ठोस नीति मौद्रिक नीतिमा समेट्न राष्ट्रबैंकलाई सुझाव दिएको छ । एशोसिएसनले घरजग्गा व्यापार बुम भएको अवस्थामा धितो राखी प्रवाह भएको ऋण समेत जोखिममा पर्नसक्ने र यसले बैंकहरुको सुरक्षण(सम्पत्ति) नै जोखिममा परेको भन्दै राष्ट्रबैंक चनाखो हुनुपर्ने सुझाव दिएको छ । एशोसिएसनका अध्यक्ष कृष्णराज लामिछानेले केही दिनअघि बिजशालासँगको कुराकानीमा भनेका थिए–‘रियलस्टेटले फेरि धेरै बैंकहरुको सम्पत्ति जोखिममा पर्नसक्छ, त्यसकारण मौद्रिक नीतिमा रियलस्टेट कर्जामा अझ बढी नियन्त्रणको व्यवस्था हुनुपर्यो ।’
तर विकास बैंककै केही सीइओहरु भने घरजग्गाको व्यापार बुम भए पनि यसलाई नियन्त्रणका लागि राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत नै कुनै व्यवस्था गर्नुपर्ने मागसँग असहमत देखिएका छन् । सिद्धार्थ डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत(सीइओ) अजयकुमार मिश्रको भनाईमा रियलस्टेट देशका सबै क्षेत्रमा नभई केही सहरमा मात्र बुम भएकोले यसलाई नियन्त्रणका लागि बैंकहरुको तत्परता नै काफी छ । ‘सबै कुरामा राष्ट्रबैंकले नीति नै बनाउनुपर्छ भनेर मुख ताक्नु गलत प्रवृति हो ।’ उनले भने–‘अहिले पनि रियलस्टेटको कर्जाको सीमा राष्ट्रबैंकले तोकेको छ, त्यसमा समेत थप सचेत भएर बैंकहरुले लगानी गरे काफी हुन्छ ।’
नेपाल बैंकर्स एशोसिएसनका उपाध्यक्ष तथा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जन समेत मिश्रको कुरामा सहमत छन् । उनले समेत राष्ट्रबैंकले नै घरजग्गा कर्जाको सीमा तोकेको र त्यो सीमा भन्दा अझ कम प्रतिशतको सीमा बैंक आफ्नै विवेकले बनाएर सो क्षेत्रमा सुरक्षित लगानी गर्नुपर्नेमा जोड दिन्छन् । ‘धेरैजसो भूकम्प प्रभावित क्षेत्रका मानिसहरु सुरक्षित स्थानतर्फ आएका छन् । यसले जग्गाको डिमाण्ड निकै माथि गइरहेको छ ।’ बिजशालासँग अन्तर्वार्ता दिने क्रममा केही दिनअघि उनले भनेका थिए–‘गुम्सिएर बसेको विजिनेश भूकम्पले बाहिर ल्याइदिएको छ । तर रियलस्टेट कर्जा नियन्त्रण नै गरिहाल्नुपर्ने अवस्था आइसक्यो भन्ने मलाई लाग्दैन ।’ उनका अनुसार अहिलेको नीतिले नै नियन्त्रण गरेको छ, हाउजिङ र जग्गामा लगानी २५ प्रतिशत ननाघ्ने भन्ने व्यवस्था छ । ‘बैंकको यसमा आफ्नै नीति छ, हाम्रो बैंकको कुरा गर्ने हो भने हामीले ल्याण्डमा राष्ट्रबैंकले तोकेको १० प्रतिशत सिलिङबाट समेत तल झरी ८ प्रतिशत मात्र राखेका छौ । हामीले हाउजिङ र ल्याण्डमा गरेर २० प्रतिशत तल बस्ने भनेका छौ ।’ उनले थपे–‘आजको दिनमा ल्याण्ड र हाउजिङमा हेर्ने हो भने हामी ११ प्रतशितमा छौ । ल्याण्डको मात्र हेर्ने हो भने हामी ५ प्रतिशतमा छौ । हामी यो कुरामा निकै सचेत छौ ।’
रियलस्टेटमा हुने अन्धाधुन्ध ठूलो लगानी जुनसुकै बेला जोखिममा पर्नसक्ने भन्दै कतिपय बैंकहरुले चलाख्याईपूर्वक ठूला डेभलपर्सहरुलाई सोझै करोडौै ऋण दिनुभन्दा उनीहरुका साना–साना ग्राहक(क्रेता)मा सानो लगानी गरेर जोखिम न्यूनिकरणको बाटो समेत रोजेका छन् । जस्तो सिभिल बैंकले नै पछिल्लो समय कुनै डेभलपर्स भन्दा क्रेताहरुलाई सानो–सानो भोल्यूममा लगानी नीति अनुसार काम गरिरहेको छ । ‘होलसेलमा एउटा डिभलपरलाई २० करोड दिनुभन्दा क्रेतालाई केही लाख दिनु कम जोखिमपूर्ण हुन्छ ।’–सीइओ महर्जनले थपे ।
नेपाल बैंकर्स संघका अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सीइओ उपेन्द्र पौड्यालले काठमाण्डौ भन्दा बाहिरका प्रमुख शहरहरुमा रियल स्टेटको विजिनेश बुम भएको स्पष्ट पार्दै त्यसैलाई हेरेर केही बैंकरहरुले रियल स्टेट कर्जामा अझ नियन्त्रणको नीति राष्ट्रबैंकले ल्याउनुपर्ने माग राखेका हुनसक्ने उल्लेख गर्दै भने–‘तर यस्ता कुरामा राष्ट्रबैंकलाई तान्नु हुँदैन । अब बैंक तथा बित्तीय संस्था आफैंले यस्ता कुरामा विवेक लगाउन आवश्यक छ । हामी आफैंले पनि केही गर्ने प्रयास गरौं ।’
केन्द्रीय बैंकका प्रवक्ता त्रिलोचन पंगेनीले भूकम्पका कारण घरजग्गा व्यापार बढेको भए पनि राष्ट्रबैंकले आगामी मौद्रिक नीतिमार्फत हालको व्यवस्थामा कुनै परिवर्तन नगर्ने स्पष्ट पारे । ‘हालको व्यवस्था नै काफी छ, बैंकहरु सचेत भएर लगानी गर्नुपर्यो ।’ उनले थपे–‘पराकम्पनहरु गइरहँदा केही ठाउँको घरजग्गा व्यापार बुम भयो होला, तर अब अवस्था केही परिवर्तन भएको छ, अहिले निकै माथि देखिएको व्यापार पनि बिस्तारै पहिलाको अवस्थामा आउला ।’
रियलस्टेटमा कति लगानी ?
नेपाल राष्ट्रबैंकको तथ्याङ्कअनुसार गत बैशाखसम्म कुल कर्जाको १५ प्रतिशत रकम रियलस्टेटमा गएको छ । बैंक तथा बित्तीय संस्थाले चालु आर्थिक वर्षको १० महिना अवधिमा घरजग्गा क्षेत्रमा २ खर्ब ३३ अर्ब ८० करोड रुपैयाँ लगानी गरेका छन् । नेपाल राष्ट्रबैंकले प्रकाशित गरेको १० महिना अवधिको तथ्याङ्क अनुसार यो लगानी बैंक तथा बित्तीय संस्थाले गरेको कुल ऋण लगानीको १४ दशमलव ८ प्रतिशत हो । यसमा १ करोडभन्दा कमको १ खर्ब ३३ अर्ब ९१ करोडको आवासीय कर्जा समेत समावेश गरिएको राष्ट्रबैंकले जनाएको छ । पछिल्लो समय घर तथा जग्गा धितोमा राखेर ऋण लिनेको संख्या समेत बढ्दै गएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19