काठमाण्डौ । देशकै सबैभन्दा ठूलो विकास बैंक कैलाश विकास बैंकको संचालक समिति अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत(सीइओ) एकाएक परिवर्तन गरिएका छन् ।

डेभलपमेन्ट बैंकर्स एशोसिएसनका अध्यक्ष समेत रहेका सीइओ कृष्णराज लामिछानेको ठाउँमा एकाएक नयाँ सीइओ चयन भएपछि यसले बैकिङ क्षेत्रमै हंगामा मच्चिएको छ । सीइओसँगै बैंकले संचालक समितिको अध्यक्षमा समेत नयाँ अनुहार चयन गरेको छ ।
कैलाश विकास बैंकमा एकैपटक संचालक समितिका अध्यक्ष र सीइओ नै परिवर्तन गर्नुपर्ने कारण के पर्यो होला ?

उच्च स्रोतका अनुसार अदालत दाहिना नहुँदा बैंक संचालक समितिका अध्यक्ष राजेन्द्र गिरी र सीइओ लाछिमानेले नै जिम्मेवारीबाट मुक्त हुनुपर्ने अवस्था आएको हो ।

कैलाश विकास बैंकका तत्कालीन अध्यक्ष गिरीविरुद्ध २ कार्यकाल चलाइसकेको भन्दै तेश्रो कार्यकालमा अध्यक्ष हुन नपाउने जिकिरसहित बैंककै केही सेयरधनी र संचालकले अदालतमा मुद्धा दायर गरेका थिए । अदालतले सो उपर फैसला गर्दै २ कार्यकाल अध्यक्ष हुन नमिल्ने भन्दै गिरीविरुद्ध फैसला सुनाएको थियो । अदालतको फैसलासँगै गिरी निलम्बित अवस्थामा थिए । अध्यक्षको २ कार्यकालको बिषयमा अदालतले नै विरुद्धमा फैसला सुनाएपछि बाफियामा भएको व्यवस्था अनुसार कृष्णराज लामिछानेलाई समेत सीइओ पद छाड्नुपर्ने नैतिक संकट आइलागेको बुझिएको छ ।

‘उहाँले कैलाश विकास बैंकलाई देशकै ठूलो विकास बैंक बनाउनुभएको थियो, उहाँ सीइओको रुपमा निरन्तर हुँदा बैंकलाई फाइदै थियो ।’ एक संचालकले भने–‘तर अदालतले नै रोकेपछि उहाँले नैतिकताको हिसाबले पद छाड्नुभएको हो ।’

कैलाश विकास बैंकमा आगामी जेठ १३ गतेसम्म भने लामिछानेले नै सीइओको रुपमा कार्यभार सम्हाल्नेछन् । संचालक समितिले जेठ १४ गतेदेखि लागू हुने गरी अमृतचरण श्रेष्ठलाई सीइओको रुपमा नियुक्त गरेको छ । संचालक समितिले अदालतको आदेशलाई समेत मध्यनजर गर्दै अध्यक्षको रुपमा नारायणप्रसाद पौडेललाई चयन गरेको छ ।

कैलाश विकास बैंकको सीइओ कृष्णराज लामिछानेले आफूले जेठ १३ गतेबाट जिम्मेवारी छाड्न लागेको पुष्टि गर्दै त्यसपछिको केही महिना घुमफिरमा बिताउने र त्यसपछि चाहि बैकिंग क्षेत्रमै फर्किने बताएका छन् ।

*यसअघिको समाचारमा नयाँ सीइओमा अमृतचरण श्रेष्ठ र संचालक समिति अध्यक्षमा नारायणप्रसाद पौडेल हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ ।