काठमाण्डौ । पूर्व बैंकर तथा विश्लेषक अजयकुमार मिश्रले राष्ट्रबैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिलाई ‘सन्तुलित’ र ‘सान्दर्भिक नीति’को संज्ञा दिएका छन् । 

बिजशालासँग कुरा गर्दै विश्लेषक मिश्रले मौद्रिक नीतिले वाणिज्य बैंकको मर्जर प्रक्रियालाई प्राथमिकतामा राखी थुप्रै प्रोत्साहनको नीति लिएकोमा खुशी व्यक्त गरे । ‘यो सबैभन्दा सकारात्मक पाटो देखियो ।’ उनले भने–‘राष्ट्रबैंकले ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई संरक्षण गर्ने नीति लिएको देखियो, यो पनि स्वागतयोग्य नै छ ।’ 

उनले शुक्रबार आएको मौद्रिक नीतिले बैंकिङ प्रणालीलाई स्थायीत्व दिने समेत दाबी गरे । ‘निकै सन्तुलित मौद्रिक नीति आएको छ । कार्यान्वयनको पाटो प्रभावकारी भए राम्रो हुन्छ ।’ उनले भने । 

मिश्रले सेयर बजारका ठूला लगानीकर्ताहरुले वित्तीय प्रणालीबाट १२ करोड मात्र मार्जिन लोन लिन पाउने व्यवस्थाका कारण निरुत्साहित भएका उल्लेख गर्दै बजारका मध्यम र साना लगानीकर्ता आत्तिनुपर्ने अवस्था नरहेको प्रष्ट पारे । ‘ठूलाका कारण बजारको सेन्टिमेन्ट्सलाई केही असर गर्नसक्ला ।’ उनले थपे–‘तर साना र मध्यम लगानीकर्तालाई १२ करोडवाला व्यवस्थाले प्रभाव पार्ने देखिन्न ।’