काठमाण्डौ। हालै रु. ३० करोडको आईपीओ अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा बीमाशुल्कबापत २७ करोड ९ लाख रुपैयाँ आर्जन गरेको छ।

चौथो त्रैमास वित्तीय विवरण अनुसार बीमाशुल्कबापतको आर्जन कम्पनीले ७९.१५ प्रतिशतले बढाएको छ। अघिल्लो वर्ष यस्तो आर्जन १५ करोड ५१ लाख रुपैयाँ रहेको थियो। 

समीक्षा अवधिमा कम्पनीको दाबीभुक्तानी भने ५६१.३२ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष १ करोड ३१ लाख रुपैयाँ दाबीभुक्तानी गरेको कम्पनीले यो अवधिमा ८ करोड ७२ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ। बीमाशुल्क आर्जनको गतिभन्दा दाबीभुक्तानीको गतिमा तीव्रता देखिनुले यस्ता कम्पनीले गुणस्तरीय बिजनेस गर्न नसकेको देखिने विश्लेषकहरु बताउँछन्। 

समीक्षा अवधिमा कम्पनीको व्यवस्थापन खर्च ५५.०६ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष १२ करोड ६२ लाख रुपैयाँ रहेको व्यवस्थापन खर्च बढेर समीक्षा अवधिमा १९ करोड ५८ लाख रुपैयाँ पुगेको छ। 

कम्पनीको बीमा कोषको आकार भने १०१.५५ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष ३ करोड ५ लाखमा सीमित बीमा कोषको आकार कम्पनीले बढाएर समीक्षा अवधिमा ६ करोड १६ पुर्याएको छ। जगेडा तथा कोषको आकार १ करोड ९३ लाखबाट बढाएर ४ करोड ५४ लाख रुपैयाँको उचाइ चुमाएको छ। 

समीक्षा अवधिका कम्पनीले खुद नाफा ५०.६८ प्रतिशतले बढाउन सफल भएको छ। समीक्षा अवधिमा कम्पनीले ६ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष खुद नाफा ४ करोड ११ लाख रुपैयाँमा सीमित थियो। 

कम्पनीले लगानी, कर्जा तथा अन्यबाट हुने आय ६ करोड ४९ लाख पुर्याएको छ। यस्तो आय अघिल्लो वर्ष ६ करोड २१ लाखमा सीमित थियो। 

अघिल्लो आर्थिक वर्ष ४९ हजार ८९४ वटा बीमालेख जारी गरेको यो कम्पनीले समीक्षा अवधिको वर्षमा ९१ हजार २२७ बीमालेख जारी गर्न सकेको देखिन्छ। 

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ८.६८ रुपैयाँ रहेको छ। प्रतिसेयर नेटवर्थ ११५.९७ रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर कुल सम्पत्तिको मूल्य १९२(०४ रुपैयाँ रहेको छ।