काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको पूर्वाधार विकासमा लगानी गर्न निजी क्षेत्र र विकास साझेदारहरूलाई आग्रह गरेका छन् ।
बेलायतको लन्डनमा आयोजित लगानी सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले ठूला पूर्वाधार विकासका लागि नेपालले थप बाह्य पूँजी खोजिरहेको भन्दै विदेशी निजी लगानीकर्ता तथा विकास साझेदारका लागि नेपालमा आकर्षक लगानी अवसर रहेको बताए ।
नेपालबाट आयात हुने जलविद्युतलाई नवीकरणीय ऊर्जा गणनामा समावेश गर्ने भारतको हालैको निर्णय बारे उल्लेख गर्दै अध्यक्ष ढकालले बढ्दो भारतीय बजारले जलविद्युत् आयोजनामा लगानीको थप अवसर आएको तर्फ ध्यानाकर्षण गराए । अर्को छिमेकी मुलुक बङ्गलादेशको सुदृढ अर्थतन्त्रले ऊर्जा माग बढ्दा नेपालको जलविद्युतका लागि थप बजार सृजना भएको पनि अध्यक्ष ढकालले बताए ।
अध्यक्ष ढकालले, दुई ठूला आकर्षक ऊर्जा बजार लक्षित नेपालको जलविद्युतमा लगानी र सहकार्यका लागि बेलायती लगानीकर्ताहरूका साथै बहुपक्षीय र द्विपक्षीय विकास साझेदारहरूलाई आमन्त्रण पनि गरे ।
नेपाल बेलायती पर्यटकका लागि पहिलेदेखि नै लोकप्रिय गन्तब्य रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले थप पर्यटकहरूलाई स्वागत गर्न तयार र उत्साहित रहेको बताए ।
उनले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल स्तरोन्नति, गौतम बुद्धको जन्मस्थल लुम्बिनी र प्रसिद्ध पर्यटकीय गन्तब्य पोखरामा अन्तरराष्ट्रिय विमानस्थल निर्माण गरिएकाले पर्यटकहरूलाई नेपाल घुम्न थप सहज भएको पनि बताए ।
बढ्दो पर्यटन बजारका लागि केबलकार, रिसोर्ट, थिम पार्क, हिल स्टेसन र स्तरीय होटेल जस्ता पर्यटन पूर्वाधारमा लगानीको ठूलो सम्भावना रहेको पनि उनको भनाइ थियो ।
उनले बहुराष्ट्रिय कम्पनीहरूले नेपालमा गरेको लगानीबाट उच्च प्रतिफल प्राप्त गरिरहेकाले उत्पादन, कृषि प्रशोधन, आइसिटी सहित अन्य क्षेत्रमा लगानी बढाउन पनि लगानीकर्तालाई आग्रह गरे ।
बेलायतस्थित नेपाली राजदूतावासको पहलमा आयोजित लगानी सम्मेलनमा अर्थमन्त्री डा प्रकाश शरण महतसहित बेलायतको अन्तरराष्ट्रिय लगानी निकायका उच्च अधिकारीहरू तथा बेलायती निजी लगानीकर्ताहरूको सहभागिता छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19