काठमाण्डौ । भारतको सेक्युरिटीज एण्ड एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी) ले नियामक मापदण्ड उल्लंघन गरेको भन्दै सेयरप्रो सर्भिसेज प्रालिका वरिष्ठ अधिकारीसहित १३ जनालाई ३३ करोड भारु जरिवाना गरेको छ ।

बजार नियामक सेबीले ती व्यक्तिहरूलाई १ लाखदेखि १५ करोड रुपैयाँसम्म जरिवाना लगाएको छ। जसमा सेयरप्रोका उपाध्यक्ष इन्दिरा कार्केरालाई १५ करोड ८ लाख रुपैयाँ जरिवाना र कम्पनीका प्रबन्ध निर्देशक गोविन्दराज रावलाई ५ करोड १६ लाख रुपैयाँ जरिवाना गरिएको छ ।

यसैगरी, सेबीले तीन ओटा संस्थालाई सामाजिक सञ्जाल एक्स तथा टेलिग्राममार्फत् अनधिकृत रुपमा सेयर खरिद गर्ने सल्लाह दिएकोमा सेयर कारोबारमा प्रतिबन्ध लगाउँदै जरिवाना गरेको छ । 

सेबीले बुधबार  ‘बाप अफ चार्ट’ नामबाट अनधिकृत लगानी गर्न सल्लाह दिने सेवाप्रदायक तीन वटा  संस्थालाई १७ करोड रुपैयाँभन्दा बढीको अवैध आम्दानी जफत गर्न आदेश दिएको छ ।

सेबीले एक विज्ञप्तिमा भनेको छ,‘आफूलाई लगानी सल्लाहकारको रूपमा वर्णन गर्ने मोहम्मद नसिरुद्दीन अन्सारीले सामाजिक सञ्जाल एक्स र टेलिग्राममार्फत् ‘ब्याप अफ चार्ट’ को नाममा सेयर बजारमा लगानी गर्न सल्लाह दिने गरेका थिए ।’
उनीहरुले धितोपत्र बजारसँग सम्बन्धित शैक्षिक तालिम दिने बाहनामा यस्ता अनधिकृत सल्लाह दिने गरेका थिए ।

भारतीय सेयर बजारलाई कस्दै सेबी
 भारतमा सेबीले सेयर कारोबार गर्न अनिकृत सल्लाह वा सिफारिस दिने कुनै व्यक्ति वा संगठित संस्थाप्रति कडा कारबाही गर्ने गरेको  छ। साथै उसले सामाजिक सञ्जालमार्फत सेयर खरिदबिक्रीको सिफारिस दिनेलाई कडा कारबाही मात्र नभइ चर्को जरिवाना समेत गर्ने गरेको छ। भारतमा वित्तीय सल्लाह तथा लगानी परामर्शका साथै प्राविधिक विश्लेषण गर्नेहरु दर्ता हुनुपर्ने नियम छ । बिना दर्ता सामाजिक सञ्जालमा कुनै पनि सेयर किन्न र बेच्न सल्लाह दि
पाइदैन ।-एजेन्सी