काठमाण्डौ । आज कच्चा तेलको मूल्य १ अमेरिकी डलरभन्दा बढीले घटेको छ ।

विश्वकै दोस्रो ठूलो कच्चा तेल प्रयोगकर्ता चीनको अर्थतन्त्रमा अपेक्षित सुधार नदेखिएपछि भविष्यमा माग कमजोर बन्ने भएकाबिच कच्चा तेलको मूल्य घटेको हो । 

आज ब्रेन्ट क्रुड फ्युचर्सको मूल्य १.८६ प्रतिशत अर्थात १.४६ डलरले घटेको छ । यो गिरावटसँगै ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ७६.८३ डलर पुगेको छ । त्यस्तै युएस वेष्ट टेक्सस् इन्टरमिडियट क्रुड फ्युचर्स(डब्लुटीआई)को मूल्य १.५१ डलरले घट्दै प्रतिब्यारेल ७०.८९ डलरमा झरेको छ । 

चीनको राष्ट्रिय तथ्यांक विभागले जारी गरेको तथ्यांक अनुसार गत वर्षको चौथो त्रैमाससम्ममा चीनको जीडीपी ५.२ प्रतिशतले वृद्धि भएको छ । जुन वृद्धि रोयटर्सले प्रक्षेपण गरेको ५.३ प्रतिशतको वृद्धिभन्दा कम हो । तथ्यांकका अनुसार गत वर्ष चीनको समग्र जीडीपी पनि भने ५.२ प्रतिशतले नै बढेको छ ।

चीनको अर्थतन्त्रबारे सार्वजनिक भएको पछिल्लो तथ्यांकले तेलको मूल्यमा गिरावट आएको विश्लेषकहरुले बताएका छन् ।

लालसागरमा विद्यमान जल र हवाई टकराव समेत तेलको मूल्य वृद्धि हुनमा प्रयाप्त देखिएको छैन । लालसागरमा व्यापारिक जहाजमाथि भईरहेको हमलाले ढुवानीकर्तामाझ मार्ग रोकिने वा वैकल्पिक मार्ग प्रयोग गर्ने,ढुवानी खर्च बढ्ने र आपूर्ती सुस्त हुने जस्ता भय व्याप्त छ । 

यस्तै अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ(फेड)का अधिकारीहरुले ब्याजदरमा आक्रामक कटौति हुने सम्झावना घटाएका कारण अमेरिकी डलर आज लगभग एक महिनाकै उच्च बिन्दुमा पुगेको छ ।

फेडका अधिकारीहरुको अभिव्यक्तिपछि डलर बलियो बनेको छ । डलर बलियो बनेपछि तेल खरिदकर्ताले डलरको माग कम गर्छन र अन्य मुद्रामा तेल खरिद गर्छन । ब्याजदर उच्च भएपछि तेलको माग समेत कमजोर बन्ने विश्लेषकले बताएका छन् ।