काठमाण्डौ । कनेक्ट आइपीएसमा बैंक खाता लिकं गरी अनलाइनबाटै सेल्फ भेरिफाई गर्ने सुविधा थप बैंक वित्तीय संस्थाहरुमा उपलब्ध भएका छन् । 

यो क्रममा नेपाल बङ्गलादेश बैंक, मेगा बैंक, लक्ष्मी बैंक, सेन्चुरी कमर्सियल बैंक, ग्लोबल आईएमइ बैंक, बैंक अफ काठमाण्डू ,मुक्तिनाथ विकास बैंक, कामना सेवा विकास बैंक, ज्योती विकास बैंक तथा आइसिएफसि फाइनान्स लगायतका बैंक वित्तिय संस्थामा उक्त सुविधा उपलब्ध भएको छ र अन्य बैंक वित्तिय संस्थामा पनि यो सुविधा थपिने क्रम जारी रहेको नेपाल क्लियरिंग हाउसले जनाएको छ। 

यस्तो अनलाइन सुविधासँगै बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुले कनेक्ट आइपीएस लिंक गरिएको खाता भेरिफाई गर्नका निम्ति बैंक शाखा पुग्नुपर्ने छैन । 

यसैगरी, अनलाइनबाटै सम्पूर्ण क्रिया पूरा गरी कारोबार गर्न सक्ने विज्ञप्तिमा जनाइएको छ । 

बैंकका ग्राहकले कनेक्ट आइपीएसमा लिंक अकाउण्ट भन्ने अप्सनभित्र आपनो खाता लिंक गरिसकेपछि म्यानेज अकाउण्ट भन्ने अप्सनभित्र सेल्फ भेरिफाई अकाउण्टमा किल्क गरी खातालाई भेरिफाई गराउन सक्नेछन् । यस प्रक्रियामा ग्राहकको विवरण, ओटिपी र माइक्रो डिपोजिटको आधारमा सुरक्षित रुपमा अनलाइन भेरिफिकेसन हुने व्यवस्था गरिएको एनसीएचलले जनाएको छ । 

हाल कनेक्ट आइपीएसमा ५४ बैंक तथा वित्तीय संस्थाहरु सदस्यको रुपमा रहेका छन् ।