काठमाण्डौ । सनराइज बैंकले पनि अनलाइनबाटै बैंक खाता खोल्ने सुविधा सार्वजनिक गरेको छ ।

केही दिनअघि एनआइसी एशिया बैंकले अनलाइन बचत खाताको योजना सार्वजनिक गरेको थियो । त्यसलगत्तै सनराइज बैंक लिमीटेडले समेत बैंक नै नगई बैंकमा खाता खोल्न सकिने र २४ सै घण्टा यस्तो सुविधा रहेको जानकारी दिएको हो । 

अनलाइन बचत खाता देश तथा विदेशमा रहेका ग्राहकहरुलाई सजिलै खाता खोल्न सहयोग गर्ने उद्देश्यले संचालनमा ल्याइएको खाता हो । शूून्य मौज्दातमै खोल्न सकिने यस्तो खातामा ग्राहक बैंकमा उपस्थित नभईकनै खाता खोली खातानंम्बर प्राप्त गर्न तथा अनलाईन मार्फत रकम जम्मा गर्न सकिने बैंकले जनाएको छ । 

अनलाइन बचत खाताको सुरुवातसँगै ग्राहकहरुले आफूले चाहेको बखतमा बैंकको वेबसाइटमा गई तुरुन्त खाता खोल्ने फारम भरी सजिलै खाता खोल्न सक्नेछन् । यस बचत खाताको सुरुवातसँगै देशविदेशमा रहेका ग्राहकहरुले उच्चस्तरीय बैंकिङ्ग सेवा प्राप्त गर्नेमा बैंकले विश्वास व्यक्त गरेको छ ।