काठमाण्डौ । भारतका लोकप्रिय योग गुरु बाबा रामदेवका नजिकका सहयोगी आचार्य बालकृष्णको सफलताको कथा कुनै किम्बदन्ती भन्दा कम छैन । एक गरीब नेपाली चौकीदारको परिवारमा जन्मिएका बालकृष्णलाई हालै भारतको ५० शीर्ष अर्बपतिको फोब्र्स सूचिमा सामेल गरिएको छ ।
४४ वर्षका आचार्य बालकृष्ण भारतमा सबैभन्दा तेज गतिमा अघि बढिरहेको उपभोग्य सामान बनाउने कम्पनी पतञ्जली आयुर्वेद लिमीटेडको प्रबन्ध निर्देशक हुन् । फोब्र्सका अनुसार आचार्य बालकृष्ण भारतका ४८ औं धनी व्यक्ति हुन्, जसको कुल सम्पत्ति अढाई अर्ब अमेरिकी डलर रहेको छ ।
उनको कम्पनीले स्याम्पूदेखि खाद्यान्न, साबुनदेखि नूडल्ससम्म, हरेक चिज बिक्री गर्छ । तर हरिद्वारस्थित नेपाली मातापिताको घरमा जन्मिएका अर्बपति आचार्य बालकृष्ण एक आम जिन्दगी जिउँछन् र पतञ्जली आयुर्वेदको दैनिक कामकाज उनै सम्हाल्छन् ।
हरिद्वारस्थित आफ्नै आश्रममा बीबीसीलाई दिइएको एक अन्तर्वार्तामा उनले भनेका छन् कि कम्पनीको सम्पत्ति उनको निजी होइन, बरु त्यो ब्राण्डको हो, जसले समाजको विभिन्न क्षेत्रमा सेवा गरिरहेको छ ।
वृद्धि
आचार्य बालकृष्णले पतञ्जली आयुर्वेद लिमीटेडमा ९७ प्रतिशत स्वामित्वको साथ फोब्र्स सूचिमा यो वर्षको सेप्टेम्बरमा आफ्नो स्थान सुरक्षित गरेका हुन् । यो कम्पनीको स्थापना उनले सन् २००६ मा भारतका सबैभन्दा लोकप्रिय योगगुरु बाब रामदेवसँग मिलेर गरेका थिए ।
रामदेव यो कम्पनीमा निजी हैसियतदेखि कुनै मालिकको हक राख्दैनन् । तर, हाइप्रोफाइल योगगुरु पतञ्जली आयुर्वेदको पर्याय हुन् । कम्पनीको ब्राण्ड एम्बेस्डरको रुपमा रामदेवले यी उत्पादनहरुको प्रोमोसन र विज्ञापन गर्छन् ।
बालकृष्णका अनुसार अर्बपतिको सूचिमा आफ्नो नाम आउनु, पतञ्जलीप्रति भारतीय उपभोक्ताको बढ्दो भरोसाको प्रमाण हो, यो कम्पनी बजारमा करिब साढे ३ सय उत्पादनहरु बिक्री गर्छ ।
उनले भनेका छन्–‘कम्पनीको सम्पत्ति कसैको निजी सम्पत्ति होइन । यो समाज र समाज सेवाका लागि हो ।’
आचार्य बालकृष्ण पतञ्जली योगपीठ ट्रस्टका महासचिव पनि हुन्, जसले करिब ५ हजार पतञ्जली क्लिनिकको रेखदेख गर्छ भने एकलाखभन्दा बढी योग कक्षा समेत संचालन गर्छ ।
बालकृष्ण पतञ्जली विश्वविद्यालयका कुलपति पनि हुन् । जसको उद्देश्य जडीबुटीमा आधारित दबाईसँग सम्बन्धित शिक्षा(आयुर्वेद शिक्षा)को बिस्तार गर्नु हो । उनी पतञ्जली योगपीठको मुख्यालयको मुख्य महलमा बनेको अस्पतालको पहिलो तलास्थित सामान्य कार्यकक्षमा काम गर्छन् ।
उनको कार्यकक्षमा बाबा रामदेवको एक तस्विर, एक बौद्ध पेन्टिङ, केही किताब र स्मारिकाका कारण आद्यात्मिक जस्तो लाग्छ । उनको कार्यकक्षमा कुनै कम्प्युटर वा ल्यापटप छैन, उनको भनाईमा उनीसँग यी चिजहरु छैनन् पनि ।
अर्बपति बालकृष्णकाअनुसार उनका सहयोगीले कम्प्युटरमा गर्नुपर्ने काम गर्छन् । कुरा गर्नका लागि उनले एक आइफोन प्रयोग गर्छन् । उनले आफ्नो कामबाट अहिलेसम्म एकदिन पनि विदा लिएका छैनन् ।
बालकृष्ण भन्छन्–‘मेरो आफ्ना लागि कुनै योजना छैन । यसकारण यदि मैले छुट्टी नै लिएँ भने पनि के गर्ने ? म प्रत्येक दिन बिहानदेखि साँझसम्म काम गर्छु र आफ्नो उर्जा तथा सतप्रतिशत समय आफ्नो कामलाई दिन्छु ।’
आचार्य बालकृष्ण र बाबा रामदेव दुवैले ११ हजार कर्मचारी कार्यरत कम्पनीबाट कुनै तलब लिंदैनन् ।
बाल्यकाल
आचार्य बालकृष्णले आफ्नो बाल्यकाल नेपालको स्याङ्जा जिल्लामा बिताए । त्यहाँ उनले ५ कक्षासम्मको पढाई पूरा गरे । उनी भारतको हरिद्वारमा पैदा भए, जहाँ उनका पिता एक चौकीदारको रुपमा काम गर्थे । उनका मातापिता अझै पनि नेपालको पुस्तैनी घरमै छन् ।
भारत फर्किएपछि हरियाणाको खानपुरमा एक गुरुकुलमा पढ्ने क्रममा सन् १९८८ मा बाबा रामदेव र आचार्य बालकृष्ण मित्र बने । त्यसपछि निरन्तर रुपमा यी दुईले मिलेर काम गरिरहेका छन् । २०११, जून महिनामा सीबीआईले बालकृष्णमाथि एक मुद्धा दायर गरेको थियो । उनीमाथि उनका शैक्षिक डिग्री र अधिकांश वैयक्ति कागजात फर्जी रहेका आरोप लगाइएको थियो । त्यसबेला उनको पासपोर्ट समेत फर्जी भएको जिकिर गरिएको थियो ।
बीबीसीसँग कुरा गर्ने क्रममा पनि बालकृष्णले ती सबै आरोपको खण्डन गर्दै आफूले केही पनि गलत काम नगरेको दाबी गरे । उनको दाबीअनुसार उनीमाथि लगाइएको आरोप र चलाउन खोजिएको मुद्धा यूपी सरकारको एक योजनाबद्ध षड्यन्त्र थियो ।
उनले भनेका छन् कि उनीसँग वाराणसीको सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयबाट प्राप्त प्रमाणपत्र रहेको छ । कागजातहरुलाई सम्हालेर राख्ने र जरुरी पर्दा त्यसलाई पेश गर्ने जिम्मेवारी विश्वविद्यालयको रहेको उनको तर्क छ ।
इण्डियन एक्सप्रेस अखबारमा छापिएको एक खबरका अनुसार २०१४ मा एनडीए सरकार सत्तामा आएपछि आचार्य बालकृष्णमाथि दायर गरिएको मुद्धाको फाइल नै बन्द गरिएको थियो । उनका आलोचक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वदेशी उत्पादनलाई बढावा दिने कुरा र स्थानीय ब्राण्डको बीच एक सम्बन्ध समेत देखिन्छ ।
तर आचार्य बालकृष्ण भने पतञ्जलीको विकास र बीजेपी सरकारको बीच कुनै अन्तरसम्बन्ध नरहेको जिकिर गर्छन् । उनको भनाईमा कम्पनी आजको अवस्थामा पुग्नु पछाडि दुई दशकदेखिको कठीन परिश्रम मुख्य कारण हो ।
जडीबुटी
पतञ्जलीको वेबसाइटमा आचार्य बालकृष्णको परिचय आयुर्वेद, संस्कृत भाषा र वेदको महान ज्ञाताको रुपमा रहेको छ । यिनले जडीबुटी तथा आयुर्वेद ज्ञानको बिषयमा कयौं शोधपत्र लेखेका छन् । बालकृष्णको भनाईमा पतञ्जलीले करिब १ सय वैज्ञानिकहरुलाई जडीबुटीको शोधको काममा परिचालन गरिएको छ र जडीबुटीको एक विश्वकोष तयार गर्ने काम पनि भइरहेको छ ।
उनले हालसम्म ६५ हजार किसिमको जडीबुटीमाथि काम गरिसकेका छन्, जुन करिब डेढलाख पानाको हुन्छ । आचार्य बालकृष्णले भनेका छन्–‘ममाथि मेरी आमाको गहिरो प्रभाव रहेको छ र उनी नै मेरो प्रेरणाको स्रोत पनि हुन् । जडीबुटीको मेरो ज्ञानको आधार मेरी आमाको घरेलु जडीबुटीको ज्ञान पनि हो ।’ पतञ्जली योगपीठमा आचार्य बालकृष्णको जन्मदिन ‘जडीबुटी दिवस’को रुपमा मनाइने गरिएको छ ।
बीबीसीबाट भावानुवाद
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago