काठमाण्डौ । एनआइसी एशिया बैंकको खुलेरै प्रशंसा गरेका नवील बैंकका सीइओ अनिलकेशरी शाहलाई संचालकहरुले झपारेका छन् । 

नवील बैंकको संचालक समितिको बैठकमै राखेर अनिल शाहलाई स्पष्टीकरण पनि सोधिएको छ । 

नवील बैंकका एक संचालकले ‘आफ्नो बैंकलाई असर पर्ने गरी अरु बैंकको प्रशंसा किन गरेको ? कि तपाईको एनआइसी एशिया बैंक जाने योजना हो ?’ भन्ने प्रश्नहरु बर्साउँदै शाहको स्पष्टीकरण लिइएको जानकारी दिए । 

एनआइसी एशियालाई नवीलसँग प्रतिस्पर्धा गर्दा नवील बैंकलाई नकारात्मक प्रभाव परेको र आफ्नै बैंकलाई अप्ठ्यारो पर्ने गरी सीइओले नै गैरजिम्मेवार अभिव्यक्ति दिएकोमा अधिकांश संचालक शाहसँग रुष्ट देखिएका थिए । 

ती संचालकले सेयरधनीहरुबाट सीइओ शाहमाथि कारबाहीको निरन्तर दवाब आइरहेको समेत जानकारी दिए । ‘आफ्नै बैंकको साख गिराउने गरी अभिव्यक्ति दिने सीइओलाई राख्न नहुनेसम्मका सुझाव दिइरहनुभएको छ ।’ ती संचालकले भने–‘तर, हामीले अभिव्यक्ति दिंदा नियन्त्रित हुने शर्तमा शाहलाई एकपटकका लागि मौका दिएका छौं ।’ 

कतिपय संचालकले बैंकको प्रगति सोचेजस्तो राम्रो हुन नसकेको र नयाँ बैंकहरुले टक्कर दिइरहँदा सीइओ भने आफ्नो बैंकलाई कमजोर बनाएर मिडियाको सेलिब्रेटी बन्नु गलत रहेको भन्दै टेबल ठोकेरै शाहलाई थर्काएका थिए । 

शाहले भने आफूले बोलेको कुरा समाचार बन्छ भनेर नसोचेको र अनौपचारिक रुपमा गरिएका कुरालाई मिडियाले समाचार बनाइदिएका दाबी गरेका थिए । ‘मैले एनआइसी एशियाले मिराकल गर्यो भनेर बोलेकै हुँ ।’ संचालकहरुलाई स्पष्टीकरण दिंदै उनले भनेको कुरा उद्धृत गर्दै स्रोतले भन्यो–‘तर, मेरा कुरा मिडियाहरुले यति धेरै भाइरल बनाउँछन् जस्तो लागेको थिएन ।’ 

उनले आउँदा दिनमा मिडियाहरुसँग सोचेर मात्र बोल्ने प्रतिबद्धता समेत जनाएका थिए । 

नवील बैंकका सीइओ शाहले दुई साताअघि केही संचारकर्मीमाझ कुरा गर्दै एनआइसी एशिया बैंकले मिराकल गरेको र यो बैंक नवीलको प्रतिस्पर्धी बैंक बनेको अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्ति बिजशालामा प्रकाशित भएको थियो । 

नवीलका सीइओको यस्तो अभिव्यक्तिकै कारण एनआइसी एशिया बैंकको सेयरमूल्यमा २० प्रतिशतसम्मको उछाल आएको छ । 

उनको अभिव्यक्तिले बजारमा हलचल नै ल्याइदिएको छ । उनीमाथि कतिपयले म्याच फिक्सिङको आरोप लगाइरहेका छन् भने कतिपयले जानी–जानी बोलेको र यसको उद्देश्य नवीलको आउन लागेको म्युचुअल फण्डका सबै इकाई बिकाउने रहेकोसम्म भन्न भ्याएका छन् । 

एनआइसी एशियाको प्रशंसा गरेर संचालकबाट स्पष्टीकरण खाएका शाहले आफ्ना निकटस्थसँग बैंक छाड्नैपरे पनि आफू तयार रहेको भन्नसम्म भ्याएका छन् । ‘धेरै अप्ठ्यारो पर्यो भने बैंक छाडेर कन्सल्टेन्टको रुपमा काम गर्छु, आफ्नै कम्पनी खोल्छु ।’ निकटस्थहरुसँग उनले भन्ने गरेका छन्–‘नवीलको कार्यकाल सकिएपछिको गर्ने भन्ने यो मेरो योजना केही अघि नै कार्यान्वयनमा आयो भने अचम्म नमान्दा हुन्छ ।’ 

सम्बन्धित समाचार

अनिल शाह भन्छन्-‘एनआइसी एशियाले मिराकल गर्यो, नवीलको प्रतिस्पर्धी बन्यो’