काठमाण्डौ । अमेरिकाको होमल्याण्ड सेक्युरिटी विभागले भूकम्पपीडितको नाममा अमेरिका छिरेर अस्थायी बसोबासको अनुमति पाएका ९ हजार नेपालीलाई घर फर्काउने निश्चित भएको छ ।

विभागले एक विज्ञप्तिमार्फत ०७२ सालको भूकम्पपछि नेपालीहरुलाई दिइएको टेम्पोररी प्रोटेक्टेड स्टाटस(टिपिएस) को सुविधा खारेजीको निर्णय भएको जनाएको छ । 

यो निर्णयबाट अमेरिकामा टिपिएस सुविधा लिएर बसेका करिब ९ हजार नेपाली प्रभावित भएका छन् ।  उनीहरुलाई आगामी सन् २०१९ जुन  २४ तारिखसम्म घर फर्किसक्नुपर्नेछ ।

होमल्याण्ड सेक्युरिटी विभागका सेक्रेटरी क्रिस्जेन नाइलसेनलाई उद्धृत गर्दै समाचारमा भनिएअनुसार भूकम्पपीडितको नाममा अमेरिका छिरेका वा अमेरिकामा कागजातबिना बसेका नेपालीहरूलाई पारिवारिक मिलनको मौका स्वरूप अमेरिकाले यो सेवा उपलब्ध गराएको थियो। महाभूकम्पमा ज्यान गुमाएका आफन्त भेट्न नेपाल आवतजावत गर्न सहज होस् भन्ने प्रयोजनका लागि अमेरिकाले नेपाली नागरिकलाई टीपीएस सुविधा दिएको थियो ।

ठीक तीन वर्षअघि नेपालमा गएको ७.८ म्याग्नीच्युडको भूकम्पपछि अमेरिकाले नेपालीहरुलाई टेम्पोरोरी प्रोटेक्टेड स्टाटस(टिपिएस)को सुविधा उपलब्ध गराएको थियो । यो सुविधाको प्रयोग गर्दै ९ हजार टाठाबाठाले अमेरिकामा कानूनी रुपमै अस्थायी बसोबासको अनुमति पाएका थिए । 

अमेरिकी संसदले सन् १९९० देखि प्राकृतिक प्रकोप, सशस्त्र युद्ध लगायतका कारणले प्रभावित हुने देशका नागरिकहरुलाई अस्थायी आवास सुविधामार्फत संरक्षणका लागि टिपिएसको व्यवस्था कार्यान्वयनमा ल्याएको थियो । 

हालै विभागले संकटग्रस्त विभिन्न तीन देशका नागरिकको टिपिएस भिसा समेत खारेज गर्ने निर्णय गरिसकेको छ । यो निर्णयपछि अमेरिकामा अस्थायी बसोबास गरिरहेका ती देशका करिब अढाई लाख नागरिक पनि निकट भविष्यमै स्वदेश फर्किनुपर्नेछ । 

अमेरिकाले देशको अवस्था हेरेर कतिपयको टिपिएस भिसाको समयअवधि समेत लम्ब्याउने गर्दछ । उसले हालै टिपिएसअन्तर्गत नै अमेरिका आएर अस्थायी  बसोबास गरिरहेका ६ हजार सिरियालीहरुको भिसा थप गरेको थियो । उसले कुनै पनि देशको असहज अवस्थाका कारण टिपिएसको सुविधा दिने र अवस्था सहज भएपछि त्यसअन्तर्गत अमेरिका छिरेका वा अमेरिकामै गैरकानूनी रुपमा बसोबास गर्दै सो सुविधा लिएकाहरुलाई फर्काउने कामलाई पछिल्लो समय तीव्रता दिइरहेको छ । यही चपेटामा नेपालीहरु समेत  पर्ने भएका हुन् ।

यस्तै, गत   मे ६ मा विगत २ दशकदेखि अमेरिका टिपिएस सुविधा पाएर बसोबास गर्दै आएका हुण्डरसका ५७ हजार नागरिकलाई समेत डिपोर्ट गर्ने अमेरिकी प्रशासनले निर्णय गरिसकेको छ ।

भूकम्पपछि करिब १५ हजार  नेपालीले अमेरिकामा टिपिएस स्टाटस  पाएका थिए, तर तीमध्ये यही स्टाटसमा  हाल ९ हजार नेपाली मात्र बस्दै आएका छन् । ९ हजारमध्ये  अधिकांश न्यूयोर्क सिटी आसपासमै बसोबास गरिरहेका समाचारमा जनाइएको छ ।