काठमाण्डौ । राष्ट्रिय बीमा संस्थान अन्तत : कम्पनीमा परिणत भएको छ । अब कम्पनीको नाम राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड भएको छ ।

संस्थान कम्पनीमा परिणत भएसँगै सञ्चालक समितिको आज बसेको पहिलो बैठकले कम्पनीको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा महेश रिमाललाई नियुक्त गरेको छ । यसअघि नायब महाप्रबन्धक रहेका  रिमाललाई कम्पनीको पहिलो बैठकले कामु सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएसँगै गत सोमबारदेखि कम्पनीमा रुपान्तरण भएको हो । बीमा ऐन २०७९ को प्रावधान अनुसार राष्ट्रिय बीमा संस्थानलाई पब्लिक लिमिटेड कम्पनीमा परिणत हुने बाटो खुलेको हो ।

मन्त्रीपरिषदको कात्तिक १६ गतेको बैठकले संस्थानलाई हालकै ५० करोड अधिकृत पूँजी र १८ करोड १० लाख २० हजार रुपैयाँ कायम राखी कम्पनीमा परिणत गर्न स्वीकृती दिने निर्णय गरेको थियो ।

हाल संस्थानको चुक्तापूँजी २ अर्ब २ करोड ४८ लाख रुपैयाँ मात्रै रहेको छ । संस्थान कम्पनीको रुपमा परिणत भएपछि न्यूनतम चुक्तापूँजी ५ अर्ब रुपैयाँ पुर्‍याउनु पर्नेछ ।

नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरूलाई ५ अर्ब रूपैयाँ पूँजी कायम गर्न निर्देशन दिएको छ। त्यस अनुसार कम्पनीले अझै २ अर्ब ९७ करोड  रूपैयाँ पूँजी थप्नु पर्ने देखिन्छ । अब कम्पनीले सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्ने गर्नेछ ।त्यस अनुसार कम्पनीले सर्वसाधारणलाई सेयर निष्कासन गरेर न्यूनतम चुक्तापूँजी पुर्‍याउने छ ।

यो पनि हेर्नुहोस्

राष्ट्रिय बीमा संस्थानलाई कम्पनीमा परिणत गर्ने प्रक्रिया सुरु, कम्पनीपछि मात्र आईपीओ निष्कासन