काठमाण्डौ । नेपाल क्लियरिङ्ग हाउसले अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा मंगलबारदेखि भुक्तानी लिने(डाइरेक्ट डेबिट) लगायतका इन्स्योरेन्स(बिमा शुल्क) भुक्तानी, किस्ताशुल्क भुक्तानी र क्रेडिट कार्ड शुल्क भुक्तानी समेतलाई समावेश गरेको छ ।

सेवा विस्तारको क्रममा समावेश गरिएका यी प्रडक्टहरुमार्फत ग्राहकहरुले सेवा लिएबापत आफ्नो खाताबाट सेवाप्रदायक कम्पनी(बीमाकम्पनी र बैंकइत्यादी)को कुनै पनि खातामा आफ्नो बैंक खाताबाट सीधै भुक्तानी दिने  अथवा सेवा प्रदायक कम्पनीले आपसी सहमतिमा ग्राहकहरुको कुनै पनि खाताबाट सोझै भुक्तानी लिन मिल्ने जस्ता दुवै प्रवृतिका कारोबारहरु गर्न सक्ने बताइएको छ । 

यद्यपि डाइरेक्ट डेबिटका लागि ग्राहकले कम्पनीलाई अग्रीम मञ्जुरी प्रदान गरेको हुनुपर्ने छ । यी प्रडक्टहरुमार्फत ग्राहकले नियमित गर्नु पर्ने भुक्तानीहरु सहज रूपमा गर्न सक्ने नेपाल क्लियरिंग हाउसले जनाएको छ । 

यसअघि कम्पनीले कस्टमर ट्रान्सफर, ट्रेजरी पेमेन्ट, सरकारी भुक्तानी, लाभांश भुक्तानी, आईपीओ रिफन्ड, रेमिटेन्स भुक्तानी र तलब भुक्तानी जस्ता प्रडक्टहरु संचालन गर्दै आएको थियो । हालसम्म अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा ६२ बैंक तथा वित्तीय संस्थाहरु डाइरेक्ट मेम्बरको रुपमा र ३ रेमिट कम्पनी इनडाइरेक्टको रुपमा आवद्घ छन् । 

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड नेपालमा विद्युतीय भुक्तानी एवम् फछ्र्यौट सम्बन्धी आवश्यक प्रणालीहरुको स्थापना गरी अग्रणी सेवा प्रदायकको रुपमा विकसितगर्ने लक्ष्य सहित नेपाल राष्ट्र बैंकको अगुवाईमा ‘क’, ‘ख’ र ‘ग’वर्गका बैंक तथा वित्तीय संस्थाहरु र स्मार्ट च्वाइस टेक्नोलोजी प्रालिको पहलमा स्थापितकम्पनी हो ।