काठमाण्डौ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिन थालेसँगै अन्तरबैंक ब्याजदर पनि घटेर ३ प्रतिशतभन्दा तल आएको छ। 

नेपाल राष्ट्र बैंकका अनुसार असार ८ गतेसम्म बैंकहरुको औसत अन्तरबैंक ब्याजदर २.९२ प्रतिशतमा झरेको हो। ‘पछिल्लो अपटेडअनुसार औसत अन्तरबैंक ब्याजदर ३ प्रतिशत मुनि झरेको छ’, राष्ट्र बैंकका सहप्रवक्ता एवं सूचना अधिकारी नारायणप्रसाद पोखरेलले भने। 

अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले आजसहित दुईवटा रिभर्स रिपो जारी गरेको पोखरेलले बताए। ‘बैंकिङ प्रणालीबाट दुईवटा रिभर्स रिपोमार्फत १५ अर्ब रुपैयाँ तानिँदैछ’, उनले भने। 

पोखरेलका अनुसार असार ७ गतेसम्म बैंकिङ प्रणालीमा १२ अर्ब रुपैयाँ अधिक तरलता रहेको छ। ‘तरलता सहज भएकै हो तर बैंकहरु कर्जा उठाउनतिर लाग्दा कर्जा परिचालन सुस्त देखिएको छ’, उनले भने, ‘एनपीएल बढेको छ, त्यसलाई मेन्टेन गर्न पनि बैंकहरु कर्जा परिचालनभन्दा उठाउन फोकस गरिरहेका छन्।’

हाल बैंकहरुको औसत सीडी रेसियो ८४ प्रतिशतभन्दा तल रहेको छ। ‘यो हिसाबले अझै बैंकहरुसँग ६ प्रतिशतको हाराहारीमा लगानीयोग्य रकम रहेको छ’, उनले भने। 

राष्ट्र बैंकको तथ्यांकअनुसार असार ८ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५५ खर्ब ७६ अर्ब ७ करोड रुपैयाँ रहेको छ। जसमा वाणिज्य बैंकहरुको मात्रै ४९ खर्ब २० अर्ब ८३ रुपैयाँ कुल निक्षेप रहेको छ। 

असार ८ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा ४८ खर्ब ५५ अर्ब ७३ करोड रुपैयाँ रहेको छ। यसमा वाणिज्य बैंकहरुको मात्रै ४३ खर्ब ८७ करोड रुपैयाँ रहेको छ।