काठमाण्डौ । अन्तरबैंक ब्याजदर फेरि ७ प्रतिशत नजिक पुगेको छ। 

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार साउन ३ गते बैंकहरुको अन्तरबैंक ब्याजदर ६.८२ प्रतिशत पुगेको हो। अघिल्लो दिन साउन २ गतेसम्म अन्तरबैंक ब्याजदर ६.५१ प्रतिशत थियो। 

स्थानीय तहको खातामा रहेको रकम निक्षेपमा गणना गर्न पाउने व्यवस्था हटेपछि बैंकिङ प्रणालीबाट ठूलो परिमाणमा निक्षेप बाहिरिएसँगै अन्तरबैंक ब्याजदर पनि बढेको हो। यसअघि तरलता अभाव भएको समयमा सरकारले सुरुमा स्थानीय तहको खातामा रहेको रकमको ५० प्रतिशत निक्षेपमा गणना गर्न पाउने सुविधा दिएको थियो। पछि उक्त सीमा बढाएर ८० प्रतिशत बनाइएको थियो। यो सुविधा गत असार मसान्तसम्मका लागि मात्र थियो। समय सकिएपछि सुविधाबापत बैंकहरुले गणना गर्दै आएको रकम बाहिरिएको हो।

साउन ३ गते एकैदिन बैंक तथा वित्तीय संस्थाहरुको १४ अर्ब रुपैयाँ निक्षेप घटेको छ। अघिल्लो दिन साउन २ गते पनि एकैदिन बैंक तथा वित्तीय संस्थाहरुबाट ८५ अर्ब रुपैयाँ बाहिरिएको थियो। यो २ दिनको अवधिमा बैंकिङ प्रणालीबाट ९९ अर्ब रुपैयाँ बाहिरिएको छ। 

साउन ३ गतेसम्म बैंक तथा वित्तीयहरुको कुल निक्षेप घटेर ५६ खर्ब ४४ अर्ब रुपैयाँमा झरेको छ। अघिल्लो दिनसम्म कुल निक्षेप ५६ अर्ब ५८ अर्ब रुपैयाँ थियो। 

साउन ३ गते वाणिज्य बैंकहरुको १३ अर्ब रुपैयाँ निक्षेप घटेको छ। अघिल्लो दिनसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४९ खर्ब ८१ अर्ब रुपैयाँ रहेकोमा साउन ३ गतेसम्म घटेर ४९ खर्ब ६८ अर्ब रुपैयाँमा झरेको छ। 

साउन ३ गते एकैदिन कर्जा लगानी पनि ६ अर्ब रुपैयाँले घटेको छ। अघिल्लो दिनसम्म कुल कर्जा लगानी ४८ खर्ब ६७ अर्ब रुपैयाँ रहेकोमा साउन ३ गतेसम्म घटेर ४८ खर्ब ६१ अर्ब रुपैयाँमा झरेको छ। 

निक्षेप घटेसँगै बैंकहरुको औसत सीडी रेसियो पनि बढेर साउन ३ गते ८३.०६ प्रतिशत पुगेको छ। अघिल्लो दिनसम्म औसत सीडी रेसियो ८२.९९ प्रतिशत थियो।