काठमाण्डौ । अन्तरबैंक ब्याजदर फेरि ५ प्रतिशतको लाइनमा झरेको छ। 

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार भदौ ७ गतेसम्म अन्तरबैंक ब्याजदर घटेर ५.८८ प्रतिशत कायम भएको छ। गत भदौ ४ गतेसम्म अन्तरबैंक ब्याजदर ६.०४ प्रतिशत थियो। बैंकिङ प्रणालीमा तरलता बढेसँगै अन्तरबैंक ब्याजदर घटेको हो। 

पछिल्लो ३ दिनको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप पनि ६ अर्ब रुपैयाँले बढेको छ। गत भदौ ४ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५६ खर्ब १२ अर्ब रुपैयाँ रहेकोमा भदौ ७ गतेसम्म बढेर ५६ खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ। 

यो अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले थप ५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। गत भदौ ४ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ४८ खबृ ६२ अर्ब रुपैयाँ रहेकोमा भदौ ७ गतेसम्म बढेर ४८ खर्ब ६७ अर्ब रुपैयाँ पुगेको छ। 

यो ३ दिनको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप संकलन ५ अर्ब रुपैयाँ बढेको छ भने थप २ अर्ब कर्जा लगानी भएको छ। गत भदौ ४ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४९ खर्ब ४० अर्ब रुपैयाँ रहेको भदौ ७ गतेसम्म बढेर ४९ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ। कुल कर्जा लगानी पनि ४३ खर्ब १ अर्ब रुपैयाँबाट बढेर ४३ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ। 

बैंकहरुको औसत सीडी रेसियो भने ८३ प्रतिशतकै लाइनमा रहेको छ।