काठमाण्डौ । भारतका मोहम्मद अहमद विगत ११ वर्षदेखि चंगा बेच्दै आइरहेका छन्। तर उनी यति लामो समयमा व्यापारमा अहिलेजस्तो सक्रिय कहिल्यै भएका थिएनन्।

पछिल्ला ६ महिनामा अहमदको दिल्लीस्थित पसलमा चंगा बिक्रीमा व्यापक उछाल आएको छ। उनको चंगा व्यापारमा बढोत्तरी आउनुको कारण भनेको कोरोना महामारी हो। 

अहमदले भारतमा मार्च २५ गतेबाट लकडाउन जारी भएयता आफ्नो पसलमा १ लाख ५० हजार भारतीय रुपैयाँ (२ हजार डलर) को चंगाको स्टक थपेको बताए। ‘म फोन कल उठाउँदा–उठाउँदा थाकिसके’, उनले भने, ‘एक्कासि चंगाको माग बढ्यो। चंगाका लागि मलाई अहिले पनि देशभरबाट फोन कल आइरहेको छ। माग यति बढेको छ कि म अहिले त्यो पूरा गर्न सक्ने स्थितिमा छैन।’ 

कोरोना महामारी नियन्त्रण गर्न जारी लकडाउनका बेला एक–अर्काको उत्साह बढाउन इटलीका नागरिकहरुले घरको बालकोनी र झ्यालबाट गीत गाएका थिए। त्यस्तै भारतमा पनि लकडाउन जारी भएका बेला त्यहाँका मानिसहरुले घरका छतबाट चंगा उडाउँदै लकडाउनको सदुपयोग गरेका थिए। 

मुम्बईमा बस्ने चंगा बिक्रेता असहन खान बढ्दो मागका कारण भारतमा चंगाको स्टक सिकिने अवस्थामा पुगेको बताउँछन्। ‘अप्रिल र अगस्ट महिनाबीचको समय भनेको चंगा व्यवसायका लागि सुक्खा समय हो। तर, यो अवधिमा यस वर्षमात्रै मैले ५ लाख चंगा बिक्री गरेँ’, उनले भने। 

असहनले छिमेकी देश पाकिस्तानमा पनि चंगाको माग धेरै देखिएको बताए। उनले आफूलाई पाकिस्तानको लाहोर र कराँचीबाट पनि चंगाको मागका लागि फोन आउने गरेको बताए। पाकिस्तानीहरु चंगाका लागि दोब्बर मूल्य तिर्न तयार रहेको उनी सुनाउँछन्। 

चंगा उडाउने प्रचलन भारतमा पहिलेदेखि नै लोकप्रिय छ। इतिहासकारहरुका अनुसार भारतमा चिनियाँ यात्रीहरुले चंगा भित्र्याएका थिए। यद्यपि चंगा व्यवसाय भारतमा मौसमी व्यापारका रुपमा रहेको छ। 

भारतका धेरैजसो ठाउँमा चंगाको व्यापार मकर संक्रान्तिको बेला उचाइमा पुग्ने गर्दछ। मकर संक्रान्तिका दिन चंगा उडाउने प्रचलन भारतमा लामो समयदेखि रहिआएको छ। यसै दिन भारतको पिश्चिमी राज्य गुजरातमा अन्तर्राष्ट्रिय चंगा महोत्सवको समेत आयोजना गर्ने गरिन्छ। 

यसका लागि महिनौँ अघिदेखि तयारी गर्ने गरिन्छ। भारतभरका चंगा निर्माताहरु गुजरातमा जम्मा हुने गर्दछन् र परम्परागत तरिकाबाट रंगिन कागजका चंगा बनाउने आफ्नो सीप बेच्ने गर्दछन्। 

त्यस्तै अन्य चाडपर्वजस्तै वसन्त पञ्चमी र पेहेँला वैशाखमा भारतको दक्षिणी सहरमा अप्रिल महिनासम्म चंगाको माग रहने गर्दछ। यसपश्चात भने भारतमा चंगाको माग घट्ने गर्दछ। घटेको चंगाको माग फेरि भारतको स्वतन्त्रता दिवसको अघि बढ्ने गर्दछ। 

यो वर्ष भने कोरोना महामारीका कारण जारी लकडानकाले भारतको चंगा उद्योग उद्योगलाई अहिलेसम्म सक्रिय राखेको छ। यो वर्ष चंगाको माग कम हुने महिनामा समेत मागमा वृद्धि देखिएको छ। 

भारतमा जुन महिनादेखि लकडाउन खुकुलो भए पनि भारतका शैक्षिक संस्थाहरु बन्द अवस्थामै छन्। जसका कारण स्कुले बालकालिका फुर्सदिला हुँदा चंगाको मागमा व्यापक उछाल आएको हो। 

कोरोनाका कारण बालबालिकालाई मनोरञ्जनका लागि बाहिर जान अनुमति दिन नसकिने भएकाले टाइम पासका लागि चंगा उडाउन दिने गरेको त्यहाँका अभिभावकहरु बताउँछन्। चंगा उडाउन सबै छतमा जाने हुँदा कोरोना संक्रमण सर्न सक्ने भन्दै केही सहरमा भने लकडाउनका बेला चंगा उडाउन प्रतिबन्धसमेत गरिएको थियो। तर सम्रगमा भने भारतमा चंगा उडाउन अनुमति दिइएको थियो। 

सन् २०१८ मा भारतको चंगा निर्माता क्षेत्रको कुल मूल्य ८५ मिलियन डलर थियो। भारतले विश्वभर चंगा निर्यात गर्ने गर्दछ। यसको बिक्रीमा घरेलु बजारको दबदबा रहेको छ। 

चंगा उडाउनेमा अधिकांश केटा र वयस्क पुरुषहरु सहभागी भए पनि चंगा निर्माण उद्योग भने मुख्यगरी महिला कामदारमा भर पर्ने गरेको छ। भारतीय महिला कामदारहरु आफ्ना बालबालिका र अन्य परिवारका सदस्यहरुको सहयोगमा चंगा निर्माण गर्ने गर्दछन्। परिवारका सदस्यहरुले यिनीहरुलाई कागज काट्ने, डिजाइन गर्नेजस्ता काममा सहयोग गर्ने गर्दछन्। 

हिबा पनि यस्तै एक निर्माता हुन्। उनले आफ्नी बहिनीसँग मिलेर दैनिक ५० वटा चंगा बनाउन सक्छिन्। उनी दिल्लीबाट २५० किलोमिटर टाढा बरेलीमा बस्ने गर्छिन्। उनले घरमै बसेर चंगा बनाउने गरेकी छन्। 

लकडाउनका कारण माग र मूल्यमा व्यापक उछाल आएपछि हिबाजस्तै अन्य भारतीय चंगा निर्माता तथा बिक्रेताको आम्दानी बढेको छ। लकडाउनका कारण सामान्य कागजबाट निर्मित र वुड काइटको मूल्य १० रुपैयाँ भारतीय रुपैयाँबाट दोब्बर बढ्दै २० रुपैयाँ पुगेको छ। – बीबीसी अंग्रेजीबाट भावानुवादित