काठमाण्डौ । अब खाता खोल्न बैंकमै जानुपर्ने बाध्यताबाट ग्राहकहरुले छुटकारा पाउने भएका छन् । 

माछापुच्छ्रे बैंकको अनलाईन खातामार्फत विश्वको जुनसुकै कुनाबाट पनि खाता खोल्न र संचालन गर्न सकिने बैंकले जनाएको छ । 

अनलाईन खाता खोल्न ग्राहकहरुले बैंकको वेबसाईटमा गई अनलाईन खाता खोल्ने फारम भर्नुपर्नेछ । इन्टरनेटको माध्यमबाट कम्प्युटर, मोबाईल, ट्याबलेट/आइ–प्याडको प्रयोग गरी सहजै खाता खोल्न सकिने जानकारी बैंकले दिएको छ ।

माछापुच्छ्रे बैंकले हालसालै बचत खातामा प्रदान गर्दै आएको ब्याजदर समेत वृद्घि गरी ७ प्रतिशत पुर्याएको छ । बैंकले विभिन्न बचत खाताहरुमा ५ प्रतिशतदेखि अधिकतम ७ प्रतिशतसम्म ब्याज प्रदान गर्ने जनाएको छ । 

ग्राहकहरुले स्मार्ट बचत खाता तथा तलब व्यवस्थापन खातामा ७ प्रतिशत ब्याज पाउन सक्नेछन् ।

यो व्यवस्थासँगै ग्राहकहरुलाई बैंकले प्रदान गर्दै आएका अन्य सुविधा सहित आफ्नो वचतको उच्चतम प्रतिफल पाउने बैंकको दाबी छ । मुद्दती निक्षेपमा पनि बैंकले १०.५ प्रतिशतसम्मको ब्याज दिंदै आएको छ । 

हाल यो बैंकका देशभर ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २८ शाखारहित बैंकिङ्ग सेवाका इकाई रहेका छन् । बैंकको देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।