काठमाण्डौ । छिमेकका दुुई देश भारत र चीनमा मोवाइल मनीमा त्यहाँका शहरिया वर्ग निकै अभ्यस्त भइसकेका छन् । भारतमा त कतिपय गाउँलाई पूर्ण डिजिटलाइजेसन गर्ने उद्देश्य अनुरुप नरेन्द्र मोदीले कायापलट गरेका छन्, ती गाउँमा सागसब्जी, दूध जस्ता दैनिक उपभोग्य वस्तु किन्न समेत पैसा चाहिदैन । त्यहाँका स्थानीयले नगदको साटो मोवाइल वा कार्डबाट पेमेन्ट गर्छन् । नेपालमा चाहि यस्तै क्यासलेस(नगदरहित) प्रविधि कहिले आउला ?

कार्डको प्रयोग सर्वसाधारणका लागि महंगो हुने ठहर गर्दै मेगा बैंक लिमीटेडले मोवाइलबाट सामान्य वस्तुहरुको खरीद गर्दा समेत पेमेन्ट गर्न सकिने निःशुल्क प्रविधि ल्याउने भन्दै राष्ट्रबैंकमा आवेदन दिएको छ । 

मेगा बैंक लिमीटेडका सीइओ अनिलकेशरी शाहले आफूहरुले बिल्कुलै नयाँ प्रविधि भित्र्याउन लागेको जानकारी दिए । कस्तो प्रविधि भन्ने बिषय अहिले खुलाउन नचाहेका उनले भने–‘हामी यस्तो प्रविधि ल्याउँदैछौ, जसले लेस क्यास समाज निर्माणमा ब्रेक थ्रु गर्ने आशा गरेका छौ ।’ 

उनले आफूहरुले लञ्च गर्न लागेको प्रविधिबाट सर्वसाधारण सागसब्जी, दूध खरीद गर्न, ट्याक्सी भाडा तिर्न, अस्पतालको खर्च तिर्न समेत नगद बोक्नुुपर्ने छैन । यो कस्तो प्रविधि होला त ? उनले मोवाइल मनितर्फ संकेत गर्दै भने–‘हाम्रा सर्वसाधारणसँग यस्तो यन्त्र साथमा छ, त्यसकै प्रयोगबाट सहज ढंगले पैसा नचाहिने खालको प्रविधि भित्र्याएर उनीहरुले सबै खालका भुक्तानी सहज गर्न सक्नेछन् ।’ 

कार्डबाट भुक्तानी गर्ने प्रविधि भन्दा मेगाले भित्र्याउन लागेको प्रविधि सस्तो रहेको समेत उनले सुुझाए । ‘कार्डबाट पेमेन्ट गर्दा त्यसको चार्ज समेत काटिन्छ ।’ उनले भने–‘तर, हामीले ल्याउन लागेको प्रविधिमा भुक्तानीको काम गर्दा कुनै पनि सेवा शुल्क तिर्न पर्दैन ।’ 

उनले बैंकले चालुु आर्थिक वर्षको पहिलो क्वार्टरभित्र नयाँ प्रविधि लञ्च गरिसक्ने दाबी समेत गरे । उनले नयाँ प्रविधिको लञ्च समेत कुनै होटल वा बन्द कोठामा नभई इन्द्रचौक, असन जस्ता खुल्ला क्षेत्रमा गर्ने उद्घोष समेत गरे । ‘हामी सार्वजनिक ठाउँमा त्यो प्रविधिको भव्य लञ्च गर्छौ ।’ उनले भने–‘त्यही कार्यक्रममा सो प्रविधिले काम गर्छ या गर्दैन केही खरीद गरेर तत्काल जाँच गर्न सकिन्छ ।’