काठमाण्डौ । नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्घित नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको कनेक्६ आइपीएस इपेमेन्ट प्रणालीको सेवा विस्तारको क्रममा बैंक खाताबाट सिधै गरिने अनलाइन रकम ट्रान्सफरको सेवा पनि संचालनमा आएको छ । 
 
सो सेवाअन्तर्गत बैंकको ग्राहकले इपेमेन्ट प्रणालीमार्फत आफ्नो बैंक खाताबाट प्रति कारोबार रु. १ लाख सम्मको सिधै रकम ट्रान्सफर गर्न सक्नेछन् । 
 
सेवाग्राहीले आफ्नै खातामा अथवा हितग्राहीको खातामा बैंक खाता नम्बरको आधारमा अथवा हितग्राहीको मोबाइल नम्बरको आधारमा समेत रकम ट्रान्सफर गर्नसक्ने सुविधा रहेको बताइएको छ ।
 
बैंकका ग्राहकले उक्त प्रणाली प्रयोग गर्न डब्ल्यू डब्ल्यू डट कनेक्टआइपीएस डट कममा गई आफूलाई एक पटक आवद्ध गर्नुपर्ने हुन्छ र आफ्नो बैंक खाताको विवरण समेत भरी खाता लिंक गराएपछि सोको फारम डाउनलोड गरी एक पटक आफ्नो बैंकबाट भेरिफाई गर्नु पर्ने हुन्छ । यो प्रणालीमा हाल १९ वटा बैंक वित्तीय संस्थाका ग्राहकहरुले कारोबार गर्न सक्ने व्यवस्था गरिएको छ भने अन्य १० वटा बैंक वित्तीय संस्थाहरुसँग उक्त सेवा संचालनका लागि सम्झौता भई परीक्षण भइरहेको छ । 
 
तत्काल यस्तो सुविधा कुन कुन बैंकमा पाइन्छ ? यस्तो छ सूचि ः
  1. सिटिजन बैंक इन्टरनेसनल
  2. ग्लोबल आइएमई बैंक
  3. जनता बैंक नेपाल
  4. एभरेष्ट बैंक
  5. लक्ष्मी बैंक
  6. नेपाल बंगलादेश बैंक
  7. नेपाल क्रेडिट एण्ड कमर्स बैंक
  8. नेपाल बैंक
  9. एन.आइ.सी. एशिया बैंक
  10. एनएमबी बैंक
  11. प्राइम कमर्सियल बैंक
  12. सिद्धार्थ बैंक
  13. गरिमा विकास बैंक
  14. गण्डकी विकास बैंक
  15. लुम्बिनी विकास बैंक
  16. मुक्तिनाथ विकास बैंक
  17. ओम डेभलपमेन्ट बैंक
  18. सांग्रिला डेभलपमेन्ट बैंक
  19. आइ.सि.एफ.सि. फाइनान्स
गत बैशाख  १२ गतेदेखि प्रारम्भिक रुपमा नेपाल सरकारको राजश्व भुक्तानी गर्न सुरु गरिएको कनेक्ट आइपीएस इपेमेन्ट प्रणालीबाट गरिने विद्युतीय भुक्तानी सेवा बिस्तारका क्रममा हाल संचालनमा ल्याइएको खाताबाट सिधैं गरिने रकम ट्रान्सफरको सुविधाले बैंकका ग्राहकहरुलाई निकै सहज हुने र उक्त प्रणालीले नेपालको विद्युतीय भुक्तानी कारोबारलाई बृद्धि गर्न समेत प्रमुख भूमिका खेल्ने नेपाल क्लियरिङ हाउसको विश्वास छ।