काठमाण्डौ । अब उपभोक्ताले मूल्य अभिवृद्धि कर लाग्ने वस्तु तथा सेवा खरिद गर्दाको भुक्तानी विद्युतीय माध्यमबाट गरेमा १० प्रतिशत कर फिर्ता पाउने भएका छन् ।

उपभोक्ताहितमा ल्याइएको यो नीति गत पुस २५ गतेबाट औपचारिक रुपमा कार्यान्वयनमा आएको हो । आन्तरिक राजस्व विभागका उपभोक्ताले विद्युतीय बैंकिङ, भुक्तानी कार्ड, अन्तर बैंक भुक्तानी, ई–मनी र मोबाइल बैंकजस्ता विद्युतीय भुक्तानीसम्बन्धी उपकरणबाट वस्तु तथा सेवा खरिद गरेको अवस्थामा कर फिर्ता हुन सक्ने व्यवस्था छ । उपभोक्ताले रकम भुक्तानी गरेपछि बिक्रेताले अनिवार्य रुपमा विद्युतीय बिजक जारी गर्नुपर्नेछ। जसमा उपभोक्ताले तिरेको १० प्रतिशतले हुन आउने करको रकम उल्लेख गर्नुपर्नेछ ।

उपभोक्ताले कर फिर्ता लिन नेपाल राष्ट्र बैंकबाट मान्यताप्राप्त भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायकमार्फत भुक्तानी सेवा प्रयोग गर्नुपर्छ ।

उपभोक्ताले बिक्रेताको बैंक खातामा भुक्तानी गरिसकेपछि भुक्तानी भएको कर रकमको १० प्रतिशत स्वचालित रुपमा बिक्रेताको बैंक खाताबाट उपभोक्ताको बैंक खातामा जानु पर्नेछ । उपभोक्ताले विद्युतीय माध्यमबाट भुक्तानी गरेको कर र बिक्रेताले खातामा फिर्ता गरेको रकमको विवरण आन्तरिक राजस्व विभागको एकीकृत कर प्रणालीमा स्वचालित रुपमा उपलब्ध हुने छ ।

कर फिर्ताका लागि भुक्तानी हुने कारोबारको न्यूनतम सीमा १ हजार र अधिकतम सीमा १ लाख रुपैयाँ तोकिएको छ ।

नगद तिरेको अवस्थामा भने कर छुट पाइने छैन ।