काठमाण्डौ। जीवन बीमा अभिकर्ताहरुले पाउने कमिसन १५ प्रतिशतले घटेको छ। कम्पनीहरुले प्रकाशित गरेको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार अभिकर्ता कमिसन अघिल्लो वर्षको तुलनामा गत वर्ष करिब साढे १५ ले घट्न पुगेको हो। 

जीवन बीमा कम्पनीमा अभिकर्तालाई पहिलो वर्ष प्रिमियम रकमको २५ प्रतिशत, दोस्रो वर्ष १५ प्रतिशत र त्यसपछि ८ वर्षसम्मम ५–५ प्रतिशतका दरले कमिसन प्रदान गरिन्छ। अभिकर्ताले पाउने कमिसन उसले बिक्री गरेको पोलिसीको प्रकार र त्यसको संख्याका आधारमा निर्धारण हुन्छ। यसैका आधारमा बीमा अभिकर्ताहरुले पाउँदै आएको कमिसन दोहोरो अंक प्रतिशतले घट्न पुगेको हो। 

जीवन बीमा कम्पनीहरुमा मर्जरको लहरले अभिकर्ताको संख्या र शाखा संख्या घटेका कारण पनि यस्तो कमिसन घट्न पुगेको देखिएको हो। कम्पनीहरु आपसमा गाभिँदा कर्मचारी अवकाश योजनाले हजारौँ कर्मचारी पलायनसमेत भएका छन्। यसले गर्दा पनि अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा अभिकर्ता कमिसन घट्न पुगेको हो। 

असार मसान्तसम्म १४ जीवन बीमा कम्पनीले अभिकर्ता कमिसनमार्फत १२ अर्ब ४२ करोड ५३ लाख रुपैयाँ खर्चिएका छन्। जुन यो अघिल्लो आर्थिक वर्षको तुलनामा १५.३८ प्रतिशतले कम हो। अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्म कम्पनीहरुले १४ अर्ब ६८ करोड रुपैयाँ अभिकर्ता कमिसनमा खर्चेको थियो। 

समीक्षा अवधिसम्म नेशनल लाइफ बाहेक सबै जीवन बीमा कम्पनीको अभिकर्ता कमिसन घटेको छ। अभिकर्तालाई दिने कमिसन सबै कम्पनीको घट्दा यता नेशनलले भने आफ्ना अभिकर्तालाई दिने कमिसन बढाएर अभिकर्तासमक्ष कम्पनीको राम्रो छवि बनाएको छ। 

असार मसान्तसम्म सबैभन्दा बढी नेपाल लाइफले अभिकर्ताहरुलाई ३ अर्ब १७ करोड रुपैयाँ कमिसन प्रदान गरेको छ। तर यो अघिल्लो आर्थिक वर्षको तुलनामा भने ११.९८ प्रतिशतले कम हो। अघिल्लो आर्थिक वर्षमा कम्पनीले ३ अर्ब ५२ करोड रुपैयाँ अभिकर्ता कमिसनका लागि छुट्याएको थियो। 

त्यस्तै दोस्रोमा नेशनल लाइफ रहेको छ। कम्पनीले असार मसान्तसम्म अभिकर्ताहरुलाई १ अर्ब ५७ करोड रुपैयाँभन्दा बढी कमिसन प्रदान गरेको छ। जुन यो अघिल्लो वर्षको तुलनामा ३.२२ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले १ खर्ब ५२ करोड रुपैयाँ अभिकर्ता कमिसनका लागि छुट्याएको थियो। 

बीमा अभिकर्तालाई कम्पनीको मेरुदण्डका रुपमा माने पनि अभिकर्ताहरुले पाउँदै आएको बोनस तथा कमिसन घटेपछि केही अभिकर्ता पलायन हुने संख्यामा बृद्धि हुँदै गएको छ। 

एलआईसी नेपालले पनि असार मसान्तसम्म १ अर्ब ४३ करोड रुपैयाँ अभिकर्ता कमिसनमा छुट्यााएको छ। कम्पनीले पनि अघिल्लो वर्षको तुलनामा यस्तो कमिसन घटाएको छ। 

त्यस्तै, हिमालयन लाइफ इन्स्योरेन्सले अभिकर्ताले पाउने कमिसनका लागि १ अर्ब ४३ करोड रुपैयाँ छु्ट्याएको छ। साविक गुराँस, युनियन र प्राइम लाइफ गरी ३ वटा जीवन बीमा कम्पनी गाभिएका कारण पनि यो कम्पनीको अभिकर्ता कमिसन बढी देखिन पुगेको हो। तर, अघिल्लो आर्थिक वर्षमा साविकका ३ वटा कम्पनीको अभिकर्ता कमिसन जोड्दा १ अर्ब ६९ करोडमाथि पुग्न जान्छ। ३ वटा कम्पनी एकआपसमा गाभिँदा कर्मचारी अवकास योजना ल्याउँदा केही कर्मचारीहरुले अवकास लिएका कारण पनि यस्तो कमिसन घट्न पुगेको देखिएको हो। 

त्यस्तै, सूर्यज्योति लाइफको यस्तो कमिसन ७६ करोड २० लाख रुपैयाँ, सिटिजन लाइफको ७१ करोड ८८ लाख रुपैयाँ, एसियन लाइफको ७१ करोड ५४ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफको ५० करोड ८० लाख रुपैयाँ, मेट लाइफको ४७ करोड ६९ लाख रुपैयाँ, आइएमई लाइफको ४६ करोड ४२ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफको ४३ करोड ५७ लाख, सन नेपाल लाइफको ३४ करोड ६६ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफको २८ करोड ३७ लाख रुपैयाँ र राष्ट्रिय बीमा संस्थानको १८ करोड २४ लाख रुपैयाँ रहेको छ।