काठमाण्डौ । विश्वकै धनाढ्य व्यक्तिको सूचीमा एक नम्बरमा रहेका अमेजनका फाउन्डर तथा सीईओ जेफ बेजोसको घटुवा भएको छ ।

विश्वकै सबैभन्दा ठूलो ई–कमर्स कम्पनी अमेजनका सीईओ बेजोस विश्वकै धनाढ्यहरुको सूचीमा घटुवामा परेर दोस्रो नम्बरमा झरेका हुन्। गत बिहीबार केही घन्टामै अमेजनको सेयरबजारमा आएको ७ प्रतिशतको गिरावटले बेजोसको विश्वकै धनाढ्य व्यक्तिको ताज खोसिन पुगेको हो ।

सेयर बजारमा आएको ७ प्रतिशत गिरावटले बेजोसको सम्पति १०३.९ अर्ब डलरमा झरेको छ । जसले गर्दा उनी पहिलो स्थानबाट दोस्रो स्थानमा झरेका हुन् ।

बेजोसको सम्पत्ति घटेसँगै माइक्रोेसफ्टका संस्थापक बिल गेट्सले धनाढ्यको सूचीमा अग्रस्थान हासिल गर्दै पहिलो स्थानमा पुगेका छन् । अहिलेको अवस्थामा बिल गेट्सको कुल सम्पति १०५.७ अर्ब अमेरिकी डलर रहेको छ ।

बेजोसले सन् २०१८ जुलाई १८ मा सम्पूर्ण रेकर्ड तोड्दै १५० अर्ब अमेरिकी डलका साथ आधुनिक इतिहासकै सबैभन्दा धनी व्यक्ती बन्न सफल भएका थिए । तर त्यसपछि भने उनको सम्पत्तिमा निरन्तर रुपमा गिरावट आइरहेको छ ।

यसअघि बेजोसले बिल गेट्सलाई नै पछि पार्दै धनाढ्यको सूचीमा पहिलो स्थान ओगटेका थिए । –एजेन्सी