काठमाण्डौ । विश्व चर्चित इकमर्स कम्पनी अमेजनको अग्रपंक्तिमा रही काम गर्ने करीब २० हजार कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । 

कम्पनीले अमेरिकामा काम गर्ने अग्रपंक्तिका १९ हजार ८१६ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेको सिएनएनले जनाएको छ । 

अमेजनको लगानी रहेको होल फूड मार्केटमा काम गर्ने कर्मचारीमा कोरोना संक्रमण देखिएको हो । 

अमेजनले यसअघि बारम्बर आफ्नो कम्पनीमा काम गर्ने कर्मचारीहरुमा देखिएको संक्रमणको बारेमा सार्वजनिक रुपमा डेटा प्रस्तुत गर्न अस्वीकार गर्दै आइरहेको थियो । 

अमेजनले आफ्नो ब्लग पोष्टमा सन् २०२० को मार्च १ देखि सेप्टेम्बर १९ सम्म अमेरिकामा रहेका आफ्ना सबै १३ लाख ७२ हजार कर्मचारी र होल फुडमा मार्केटका अग्रपंक्तिका कर्मचारीहरुको डेटा विश्लेषण गरिएको जनाएको छ । 

अमेजनले विश्लेषणपश्चात त्यो अवधिमा जोन हपकिंग्स युनिर्भसीटीको रिपोर्ट प्रयोग गरी आफ्ना कर्मचारीको संक्रमण दर आम जनसंख्यासँग तुलनामा गरेको जनाएको छ । कम्पनीले कोरोना पोजेटिभ देखिएका कर्मचारीको संंख्या वा पोजेटिभ आशंका गरिएकाको संख्या अनुमान गरिएको भन्दा ४२ प्रतिशतले कम पाइएको दाबी गरेको छ । 

कम्पनीले कोरोना संक्रमणको फैलावट रोक्नका लागि आफुले विभिन्न कदमहरु चालिरहेको र यसमा सुरक्षा सर्तकता बढाउनका लागि आफ्नो सञ्चालनमा १५० भन्दा धेरै प्रोसेस चेञ्जेजहरु पनि समावेश गरिएको जनाएको छ । 

अमेजनको यो विवरण प्रत्येक वर्षको अक्टोबर १३ र १४ मा गर्ने गरेको आफ्नो एनियुल प्राइम डे सेल्स एभेन्ट्सको पूर्व सन्ध्यामा सार्वजनिक भएकोे हो । 

अमेजन प्राइम डेमा कम्पनीका कर्मचारीहरु निकै नै व्यस्त हुने गर्दछन् । कम्पनीले गत महिना कम्पनीको सञ्चालनका लागि थप १ लाख कर्मचारी भर्ना गर्ने योजना घोषणा गरेको थियो । बढ्दो मागलाई सम्बोधन गर्नका लागि मार्च महिनामा १ लाख कर्मचारी भर्ना गरेको थियो र अप्रिलमा थप ७५ हजार कर्मचारी भर्ना गर्ने घोषणा गरेको थियो ।