काठमाण्डौ । अमेजनका संस्थापक जेफ बेजोस कम्पनीको सीईओ पदबाट हट्ने भएका छन्। 

बेजोस यो वर्षको आउँदो तेस्रो त्रैमासदेखि सीईओ पदबाट हटेर बोर्डको कार्यकारी अध्यक्षको नयाँ जिम्मेवारी सम्हाल्ने छन्। सीईओका रुपमा बेजोसलाई एन्डी ज्यासीले प्रतिस्थापन गर्नेछन्। 

बेजोस अमेजनको स्थापनाकालदेखि अर्थात सन् १९९५ देखि कम्पनीको सीईओका रुपमा रहँदै आएका छन्। अमेजनले अनलाइन बुक स्टोरका रुपमा यात्राको थालनी गर्दादेखि अहिले १.७ ट्रिलियन डलर मूल्यबराबरको मेगा अनलाइन रिटेलरका रुपमा पुग्दासम्म बेजोस अनवरत साक्षीका रुपमा रहँदै आएका छन्। 

अमेजनको नयाँ सीईओको रुपमा देखिने ज्यासी कम्पनीमा सन् १९९७ देखि काम गर्दै आइरहेका छन्। उनी अहिले कम्पनीको क्लाउड बिजनेसको सीईओका रुपमा कार्यरत छन्। ‘हाम्रो यात्रा २७ वर्ष अघिदेखि सुरु भएको थियो। त्यतिबेला अमेजन एउटा अवधारणाका रुपमा मात्रै थियो र यसको कुनै पनि नाम थिएन तर अहिले हाम्रा करिब १३ लाख कर्मचारीले लाखौँ–करोडौँ ग्राहकलाई सेवा प्रदान गर्दैछन् र अहिले हामी विश्वको सबैभन्दा सफल कम्पनीहरुमध्ये एउटा बनेका छौँ’, बेजोसले कर्मचारीहरुलाई लेखेको पत्रमा भनेका छन्। 

कम्पनीको गत वर्षको चौथो त्रैमासिक रिपोर्ट सार्वजनिक भएसँगै बेजोसले सीईओ पद छोड्ने समाचार बाहिरिएको हो। चौथो त्रैमासिक रिपार्टका अनुसार कम्पनीले बिक्री र मुनाफाका आधारमा वाल स्ट्रिटले गरेको प्रक्षेपणभन्दा धेरै बिक्री र मुनाफा आर्जन गरेको छ। 

कोरोना महामारीका कारण कम्पनीको रिटेल र क्लाउड बिजनेसमा उछाल आएसँगै कम्पनीको बिक्री र मुनाफामा बढोत्तरी आएको हो। यसका साथै बितेको एक वर्षमा कम्पनीको सेयरमूल्य ६९ प्रतिशतले वृद्धि भएको छ। – एजेन्सी