काठमाण्डौ । अमेरिकाको प्राविधिक उद्योगमा मानिसहरुलाई जागिरबाट निकाल्ने प्रक्रिया रोकिएको देखिँदैन।
ट्विटर र फेसबुकपछि अब अमेजनले पनि आफ्ना हजारौँ कर्मचारीलाई हटाउने घोषणा गरेको छ। अमेजनका प्रमुख कार्यकारी अधिकृत एन्डी जेसीले आफ्ना कर्मचारीलाई लेखेको नोटमा यस्तो जानकारी दिएका छन्। उनले आउँदो जनवरी १८ बाट कर्मचारीको जानकारी लिन थाल्ने लेखेका छन्।
ती कर्मचारीको संख्या १८ हजारभन्दा बढी रहेको बताइएको छ। जुन कम्पनीको कुल ३ लाख कर्मचारीको ६ प्रतिशत हो।
अमेजनले नोभेम्बरमा लागत घटाउनका लागि आफ्ना केही कर्मचारीलाई निकाल्ने जानकारी दिएको थियो। एन्डी जस्सीले भनेका छन्, ‘हामी यस कदमबाट प्रभावित भएकाहरुलाई मद्दत गर्ने प्रयास गरिरहेका छौँ। हामीले हाम्रा कर्मचारीलाई आर्थिक सहायता र संक्रमणकालीन स्वास्थ्य बीमाका साथै अन्य कम्पनीमा काम खोज्नका लागि सहयोग समावेश गर्ने प्याकेज प्रस्ताव गरिरहेका छौँ।’
यससँगै एन्डी जस्सीले अमेजनले यसअघि पनि अर्थतन्त्रको खराब समयलाई पार गर्न सफल भएको र भविष्यमा पनि निरन्तरता दिने लेखेका छन्।
विश्वको सबैभन्दा ठूलो ई–कमर्स कम्पनीको व्यापार विश्वका धेरै देशमा फैलिएको छ। अमेजनको अमेरिकादेखि भारत र युरोप सम्म सबै देशमा कार्यालय र कर्मचारी छन्। तर, कम्पनीले अहिलेसम्म कुन–कुन देशमा आफ्ना कर्मचारीलाई यो कदमले असर पार्छ भन्ने कुरा जानकारी गराएको छैन।
यद्यपि, कम्पनीले युरोपमा रहेका कर्मचारीहरुको प्रतिनिधित्व गर्ने संस्थाहरुसँग आवश्यकताअनुसार कुरा गर्ने जनाएको छ। यससँगै कम्पनीले धेरैजसो जागिर अमेजन स्टोर अपरेसन र यसका मानिस, अनुभव र प्रविधि टोलीबाट जाने बताएको छ।
दुई महिनाअघि अमेजनले आफ्नो व्यापार गतिविधिको वार्षिक समीक्षामा लागत घटाउने उपाय खोज्ने प्रयास गर्ने बताएको थियो। अमेजनले आफ्ना मानिसलाई काम दिने प्रक्रिया अस्थायी रुपमा रोकेको छ। यससँगै अमेजनले महामारीको समयमा आवश्यकताभन्दा बढी मानिसलाई रोजगारी दिएको चेतावनी दिँदै आफ्नो गोदाम विस्तार गर्ने योजना बन्द गरेको छ।
अमेजनले यसअघि आफ्ना केही व्यावसायिक इकाइ बन्द गरिसकेको छ। जसमा पर्सनल डेलिभरी रोबोटजस्ता परियोजना पनि समावेश छन्। बदलिँदो आर्थिक अवस्थालाई ध्यानमा राख्दै यसअघि ट्विटर, फेसबुकलगायत अमेरिकी प्रविधि जगतका धेरै कम्पनीले आफ्ना कर्मचारीलाई जागिरबाट निकालिसकेका छन्। –एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19