काठमाण्डौ । ई–कमर्श कम्पनी अमेजनले कोरोनाकालमा अग्रपंक्ति रहेर काम गर्ने आफ्ना कर्मचारीलाई ‘थ्यांक्यु बोनस’ का रुपमा ५०० मिलियन डलरभन्दा धेरै रकम प्रदान गर्ने भएको छ।

कम्पनीले जुन महिनासम्म कम्पनीको अग्रभागमा रहेर सेवा प्रवाह गर्ने कर्मचारीलाई यो रकम प्रदान गर्नेछ। मे महिनाको अन्त्यमा अग्रपंक्तिका कर्मचारीलाई प्रतिघन्टा अतिरिक्त २ डलर र ओभरटाइममा काम गर्नेको भत्ता दोब्बरले वृद्धि गर्ने व्यवस्था खारेज गरेसँगै कम्पनीले रकम प्रदान गर्ने निर्णय गरेको हो। ‘केही महिनायता हाम्रो अग्रपंक्तिको सञ्चालनको यात्रा अभुतपूर्व रहेको छ र हामी यसका लागि ५०० मिलियनभन्दा बढीको वान टाइम बोनसले आफ्ना कर्मचारीको प्रशंसा गर्न चाहन्छौँ”, अमेजनका वरिष्ठ उपाध्यक्ष डेभ क्लार्कले भने। 

कम्पनीले प्रदान गर्ने वान टाइम बोनस कर्मचारीपिच्छे फरक रहेको छ। अमेजनमा फुलटाइमका रुपमा काम गर्ने, अमेजनको स्वामित्वमा रहेको होलसेल फुडमा काम गर्ने कर्मचारी र डेलिभरीमा चालकका रुपमा काम गर्नेलाई ५०० डलर प्रदान गरिनेछ। 

पार्ट टाइम काम गर्ने कर्मचारी र चालकलाई २५० डलर प्रदान गरिनेछ। 

अग्रपंक्तिमा रहेर नेतृत्व गर्नेलाई १ हजार डलर प्रदान गरिनेछ। 

त्यस्तै डेलिभरी सर्भिस पार्टनरका मालिकलाई ३ हजार डलर प्रदान गरिनेछ भने जुन महिनामा १० घण्टाभन्दा धेरै काम गर्ने अमेजन फ्लेक्सका चालकहरुलाई १५० डलर प्रदान गरिनेछ। 

कोरोना महामारीको दौरान अमेजनको व्यापारमा उछाल आएको छ। मानिसहरुले अमेजनका उत्पादन र सेवाहरुको उपयोगमा वृद्धि गरेर आफ्ना अत्यावश्यक मागगहरु प्रिपूर्ति गर्दे आइरहेका छन्। तर महामारीको बेला अमेजनमा काम गर्ने वातावरणको विषयलाई लिएर चासो बढेको छ। कम्पनीमा काम गर्ने कर्मचारीहरुको सार्वजनिक स्वास्थ्यमा परेको प्रभावको पर्याप्त जानकारी उपलब्ध नगराएको भनेर कम्पनीको आलोचना हुदै आइरहेको छ। 

अमेजनको गोदाममा काम गर्ने कोरोना संक्रमित भएका कम्तीमा पनि १० जनाको ज्यान गएको छ। यसले कम्पनीमा काम गर्ने कर्मचारीको स्वास्थ्य सुरक्षालाई लिएर प्रश्न उठेको छ। यसका साथै कर्मचारीको स्वास्थ्य सुरक्षामा लापरबाही गरेको आरोपमा कम्पनीले मुद्दाको सामना गरिरहेको छ। मुद्दाको प्रतिक्रियास्परुप कम्पनीले कोरोनाभाइरसको फैलावटलाई रोक्न आफ्ना १५० भन्दा बढी प्रक्रियाहरुमा परिर्वतन गरेको छ। – एजेन्सी