काठमाण्डौ। बढ्दो मागलाई सम्बोधन गर्न अमेरिकी अनलाइन रिटेल दिग्गज कम्पनी अमेजनले बेलायतमा थप ७ हजारजनाका लागि रोजगार सिर्जना गर्ने भएको छ। 

कम्पनीले यो वर्ष अहिलेसम्म ३ हजार बेलायती नागरिकलाई रोजगार प्रदान गरिसकेको छ। यो वर्षको अन्त्यसम्म कुल १० हजारलाई रोजगार सिर्जना गर्ने कम्पनीले जनाएको छ। 

अमेजनले नयाँ रोजगार स्थायी हुने कर्मचारीलाई घन्टाको न्यूनतम ९.५० पाउन्ड स्टेर्लिङ प्रदान गर्नेछ। चाडपर्वका लागि सिजिनल पोस्टका रुपमा थप २० हजार अस्थायी कर्मचारी नियुक्त गरिने कम्पनीले जनाएको छ। 

यसअघि अमेजनले कर्मचारीलाई गर्ने व्यवहार र स्वास्थ्य सुरक्षाका लागि आलोचनाको सामना गरेको थियो। 

अमेजनले महामारीका दौरान सयौँ अस्थायी कर्मचारी नियुक्त गरेको थियो। ती अस्थायी कर्मचारीमध्ये धेरैजसोलाई कम्पनीले स्थायी जिम्मेवारी प्रदान गर्न लागेको जनाएको छ।

कोरोना महामारीले गर्दा बेलायतका अधिकांश पसल बन्द भएकाले अनलाइन किनमेल गर्नेको संख्यामा व्यापक उछाल आएको छ। जसको फाइदा अमेजनजस्ता दिग्गज अनलाइन रिटेल कम्पनीलाई पुगेको छ। 

बेलायतमा जुलाई महिनामा अनलाइन किनमेल गर्नेको संख्या ५० प्रतिशतभन्दा धेरैले वृद्धि भएको थियो। यो संख्या महामारीअघिको फेब्रुअरी महिनाभन्दा पनि धेरै हो। त्यस्तै मे महिनामा अनलाइन सपिङ गर्नेको संख्या पनि ३० प्रतिशतभन्दा धेरै पुगेको थियो। – एजेन्सी