काठमाण्डौ । अमेरिकाको दबाबमा चीनले आफ्नो वित्तीय क्षेत्रमा विदेशी लगानीकर्ताहरुलाई गरेको बन्देज हटाउने भएको छ ।

चीन र अमेरिका पछिल्लो २ वर्षदेखि व्यापार युद्धमा अल्झिरहेका छन् । अमेरिकाले लगातार चीनमाथि विदेशी लगानीमा लगाइएको बन्देज हटाउन दबाब दिँदै आइरहेको छ ।

चीनको बैकिङ एवं बीमा नियामक ‘चाइना बैंकिङ एन्ड इन्स्योरेन्ज रेग्युलेटरी कमिसन (सीबीआईआरसी) ले सन् २०२० को सुरुआतबाट विदेशी बैंकले चीनमा पूर्ण स्वामित्वमा शाखा खोल्न सक्ने जनाएको छ । अहिलेसम्म विदेशी बैंकहरुले चीनमा शाखा खोल्दा स्थानीय साझेदार राख्नुपर्ने र विदेशी बैंकको सेयर हिस्सा ४९ प्रतिशतभन्दा बढी हुन नहुने नियम बनाएको छ । यसको मतलब चीनमा विदेशी बैंकको शाखा खाल्दा ५१ प्रतिशत सेयर स्थानीय साझेदारको हुनुपर्नेछ ।

अमेरिका र चीन सन् २०१८ मार्चदेखि व्यापार युद्धमा उल्झेका छन् । दुवै देशले एक–अर्काबाट आयात हुने अर्बौं डलरको सामानमा करवृद्धि गर्दै आएका छन् ।

हालै दुवै देशले व्यापार युद्ध अन्त्य गर्ने दिशातर्फ अगाडि बढेका छन् । दुवै देशले यही महिना जनवरीमा प्राथमिक सम्झौतामा हस्ताक्षर गर्ने तयारी पनि गरिरहेका छन् ।

प्राथमिक सम्झौतामा अमेरिकाले लामो समयदेखि चीनमा आफ्नो वित्तीय क्षेत्रमा बाहिरी निकायको प्रवेशमा लगाउँदै आएको बन्देज फुकुवा गर्ने सर्तमा हस्ताक्षर गर्ने सम्भावना प्रबल देखिएको छ । योसँगै चीनमा विदेशी बैंकको शाखाहरु खुल्ने क्रम सुरुआत हुने अनुमान गर्न थालिएको छ । 

यसरी चीनमा प्रवेश गर्ने विदेशी बैंकहरुलाई पुँजीको कुनै सीमा नतोकिने बताइएको छ । त्यस्तै कोष प्रबन्धन कम्पनीलाई अप्रिल १  र विदेशी ब्रोकरका लागि डिसेम्बर १ बाट लगानीमा हुने प्रतिबन्ध समाप्त हुनेछ । –एजेन्सी