काठमाण्डौ। अमेरिकाको ट्रेजरी सेक्रेटरी (वित्तमन्त्री)मा पहिलोपटक महिला नियुक्त हुने भएकी छन्।
अमेरिकाको २३१ वर्षे इतिहासमा ७४ वर्षीया जेनेट एलेन यो पदमा पहिलोपटक नियुक्त हुन लागेकी हुन्। ट्रेजरी सेक्रेटरी नियुक्त गर्ने सुनुवाइका क्रममा एलेनको पक्षमा ८४ र विपक्षमा १५ भोट परेको थियो। एलेनले सपथ लिनेबारेमा राष्ट्रपति कार्यालय ह्वाइट हाउस केही पनि जानकारी उपलब्ध गराएको छैन।
ट्रेजरी सेक्रेटरीका रुपमा रहेर एलेनले राष्ट्रपति जो बाइडनको १.९ ट्रिलियन डलरको अमेरिकन पुनरुत्थान योजनाको रेखदेख गर्ने छिन्। यो योजनामा १४०० डलरको प्रोत्साहन चेक, बेरोजगार भत्ता र कोभिड–१९ को खोप र परीक्षणका लागि प्रदान गरिने फन्ड समावेश गरिएको छ।
एलेनले गत साता आफ्नो पहिलो प्राथमिकता भनेको आर्थिक मन्दीले सबैभन्दा धेरै प्रभावित बनेका मानिसका लागि काम गर्नु रहेको बताएकी थिइन्। कारोना महामारीका कारण अमेरिकामा विशेषगरी अल्पसंख्यक श्रमिक तथा महिला प्रभावित बनेका छन्।
एलेनले महामारीका कारण अमेरिकाको अर्थतन्त्र निकै नै प्रभावित बनेको र यसको पुनरुत्थानको जिम्मेवारी आफ्नो काँधमा रहेको बताएकी थिइन्।
को हुन् जेनेट एलेन ?
एलेन अनुसन्धान संस्था बु्रकिंग्स इन्स्टिच्युटमा कार्यरत छिन्। उनमा अमेरिकी अर्थव्यवस्था र आर्थिक मामिलकाका बारेमा राम्रो ज्ञान रहेको छ।
एलेन सन् २०१४ देखि २०१८ सम्म अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भको प्रमुखका रुपमा कार्यरत थिइन्। यसअघि उनी सन् १९९७ देखि १९९९ सम्म ह्वाइट हाउसको आर्थिक सल्लाहकार परिषद्को अध्यक्ष थिइन्। जानकारका अनुसार एलेनले राष्ट्रपति बाइडनको आर्थिक नीतिहरुलाई आकार र दिशा प्रदान गर्नमा निर्णायक भूमिका निर्वाह गर्न सक्ने सक्ने छिन्।
एलेनको निर्णयका कारण बेरोजगारी दर २.६ प्रतिशतले घट्यो
फडेरल रिजर्भको अध्यक्षका रुपमा एलेनले १६ डिसेम्बर २०१५ मा ब्याजदर (रेपो रेट) वृद्धि गरेकी थिइन्। सन् २००६ पछि अमेरिकामा पहिलोपटक ब्याजदरमा वृद्धि गरिएको थियो।
एलेनको कार्यकालका क्रममा अमेरिकाको बेरोजगारी दर ६.७ प्रतिशतबाट घटेर ४.१ प्रतिशतमा सीमित बनेको थियो। जुन पछिल्ला १७ वर्षमा सबैभन्दा कम थियो।
अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले फेडरल रिजर्भको एक महत्वपूर्ण सदस्य र पछिल्ला तीन वर्ष फेडको उपाध्यक्षका रुपमा एलेनले अमेरिकाको अर्थतन्त्रलाई मन्दीबाट बाहिर ल्याउन सहयोग पुर्याएको भन्दै प्रशंसा गरेका थिए। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19